कोसी राजमार्ग भैँसी खेल्ने आहालमा परिणत

काठमाण्डु टुडे २०७१ असार २७ गते ८:२६ मा प्रकाशित

सङ्खुवासभा, २७ असार – पाँच वर्ष अगाडि १६ ठेकेदारबाट निर्माण भई कालोपत्र गरिएको एक वर्षपछि नै सयौँ ठाउँमा भत्किएपछि कोसी राजमार्गअन्तर्गतको सङ्खुवासभा खण्डको ५६ किमि सडक भँैसी खेल्ने आहालमा परिणत भएको छ ।

सडक विभाग र ठेकेदारको लापर्बाहीको कारण चैनपुर– वसन्तपुर सडक अहिले कालोपत्र गरेको राजमार्ग नभएर भैँसी खेल्ने आहाल बनेको छ ।

आ–आफ्ना गन्तव्यमा हिँडेका यात्रुले अहिले चाउचाउ र खोलाको पानी खाँदै जङ्गलमा दिन बिताउनु परेको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट हिँडेको सयौँ यात्रु र धरानबाट आएको यात्रु सडकको खराब अवस्थाको कारण अलपत्र पर्दै आएका छन् ।

स्थानीय यातायात व्यवसायी केदार खड्काका अनुसार सडक विभाग र ठेकेदारको चरम लापर्बाहीका कारण सङ्खुवासभा जिल्लावासी चरम मारमा परेको बताउनुहुन्छ । “न त सरकारले यस क्षेत्रमा कालोपत्र गर्न बजेट छुट्याउँछ न त मर्मत नै,” उनले भने ।

राहदानी बनाउन सदरमुकाम खाँदबारी पुग्नुपर्ने काशिनाथ थापा गाडी नचल्ने अवस्था देखेपछि पैदलै हिँडेका छन् । मुढेबाट सदरमुकाम खाँदबारी पैदल पुग्न १४ घण्टा लाग्छ ।

त्यस्तै मुढेको नाइन स्टार क्लबका कोषाध्यक्ष रीतेश गुरुङका अनुसार मुढे बजारलगायत सयाँै ठाउँमा कालोपत्र भत्किँदा सर्वसाधारणलाई यात्रा गर्न समस्या भएपनि सम्बन्धित निकाय कानमा तेल हालेर बसिरहेको बताए ।

असार लागेपछि मात्र ठेकेदारद्वारा भत्किएको कालोपत्रमा सोलिङ गर्न सगरमाथा डाँफे जेभीकम्पनीले चार महिना अगाडि ठेक्का पारेपनि चरम लापर्बाहीका कारण यो वर्ष असार मसान्तसम्ममा कुनै हालतमा पनि भत्किएको सडकमा ढुङ्गा छाप्न नसकिने भएको छ । भत्किएको कालोपत्रेमा ढुङ्गा छाप्ने र ग्राभेल गर्ने कामका लागि तीन करोड बराबरको बजेट सडक विभाग धनकुटाबाट यस वर्ष विनियोजन गरिए पनि काम गराइमा चरम लापर्बाही हँुदा राजमार्गको हालत यो वर्ष पनि कुनै सुधार हुने छाँट छैन ।

असार मसान्तसम्म सकी सक्नुपर्ने काम अहिलेसम्म ४० प्रतिशत पनि नसकिएको सम्बन्धित ठेकेदारले बताएका छन् । तीन किमि सडक ग्राभेल र चार हजार ५०० घन मिटरभन्दा बढी सोलिङ गर्न ठेक्का दिइएको छ । हाल उनीहरुले केही दर्जन कामदार र २÷४ वटा निर्माण उपकरण लगाएर काम गरिरहेका छन् ।

सदरमुकाम खाँदबारीलगायतका स्थानीय जनता कालोपत्रे सडक भत्किएर सवारी साधन चल्न नसक्ने अवस्थामा पुगेपछि सहायक मार्गबाट यात्रा गर्न बाध्य भएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारी र चैनपुरलगायत दर्जनौँ गाविसको सर्वसाधारण हाल तुम्लिङदेखि हिले हुँदै धरानतर्फ यात्रा गर्न बाध्य छन् । कोसी राजमार्गको चैनपुर–वसन्तपुर सडक काम नलाग्ने भएपछि हाल तुम्लिङबाट चर्को मूल्यमा भाडा तिरेर तल्लो अक्करे सहायक मार्ग भई यात्रा गर्न उनीहरु बाध्य छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us