छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०७१ असार २७ गते ४:०६ मा प्रकाशित

वीरगन्ज २७ असार – छोरो भेट्न जाँदा आमाको बसको चक्काले कुल्चिएर मृत्यु भएको छ ।

बाराको दहियार–४ बस्ने ६२ वर्षीया आमा फूलमाया तेलिन भक्तिनलाई आफू चढेको बसको पछाडिको चक्काले कुल्चिँदा बिहीबार वीरगन्जको बसपार्कमानै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

कलैयाबाट वीरगन्ज आइरहेको ना३ख ३१०० नम्बरको बसबाट झर्ने बित्तिकै सोही बसले पछाडिको चक्काले कुल्चिए उनको ज्यान गएको र उक्त बस तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

मृतक फूलमायाको तीनजना छोरा धनगढी वर्षौंदेखि बस्दै आइरहेकाले छोरासँग भेट्न वीरगन्जको बाटो भएर उनी धनगढी जान लागेकी थिइन् । फूलमायाको शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच बाराको निजगढ नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्सा महुवन–१ निवासी २४ वर्षीय अनुरुद्र गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ट्रक चालक बारा रामपुर टोकनी–३ निवासी ३५ वर्षीय मिरजा आलम अन्सारीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ८२१२ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ४१३० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रिपर चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रिपरलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us