गर्भवतीको अवस्था थाहा पाउने प्रविधि ‘आमाको मायाँ’

काठमाण्डु टुडे २०७१ असार २७ गते १:४७ मा प्रकाशित

चितवन, २७ असार– कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्र्याएको छ ।

‘आमाको मायाँ’ कार्यक्रमअन्तर्गत यहाँ उक्त प्रविधि भित्र्याइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम परीक्षणका रुपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए । गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरुलाई एक शतप्रतिशत अस्पताल सेवा पु¥याउने उद्देश्यले यो प्रविधि ल्याइएको हो ।

आमाको मायाँ मोबाइल एप्लिकेसनमार्फत उक्त सूचना सम्बन्धित ठाउँमा पुग्ने पुस्तकालयले जनाएको छ । चितवनको बछौली गाविसमा नौजना स्वास्थ्य स्वयम्सेविकालाई सुविधायुक्त माइक्रोम्याक्सको मोबाइलसमेत उपलब्ध गराइएको छ ।

स्वयम्सेविकाहरुले घरघरमा पुगेर गर्भवती महिलाको अवस्थाबारे मोबाइलमा टाइप गरेर राखेपछि सर्भरमार्फत उक्त जानकारी कन्ट्रोल कक्षमा पुग्ने र सो कन्ट्रोल कक्षबाट आवश्यक सावधानीका सूचनाहरु गर्भवतीलाई दिने गरिएको छ ।

कति हप्तामा शिशु र आमाको अवस्था कस्तो हुन्छ भन्नेसम्मको जानकारी मोबाइल एप्लिकेसनबाट गर्ने गरिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीले बताइन् ।

यदि चिकित्सकको भनाइ अनुसार मेल खाएन र महिलामा समस्या देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा जान सोही एप्लिकेसनमार्फत नै सूचना दिने प्रविधि यसमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us