चार बच्चा जन्माइन् आमाले

काठमाण्डु टुडे २०७१ असार २६ गते १३:१० मा प्रकाशित

सर्लाही, २६ असार – सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा एक महिलाले एकैपटक चारवटा बच्चा जन्माएकी छिन् ।

सर्लाहीको कौडेना गाविस–७ निवासी इजुल खानकी २५ वर्षीया छोरी रविना खातुनले एकैपटक चारवटा बच्चा जन्माएकी हुन् ।

प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी खातुनले दुई छोरा र दुई छोरी जन्माएकी जिल्ला अस्पतालका चिकित्सक प्रह्लाद अधिकारीले बताए ।
गएराति ७ बजेर २० मिनेटमा रविनाले चारवटा बच्चालाई एकसाथ जन्म दिएकी थिइन् ।

चिकित्सक अधिकारीका अनुसार रविनाले छ महिनामा नै चार बच्चा जन्माएकी हुन् । “छ महिनामा जन्मिएका हुनाले बच्चाको अवस्था पूर्णरुपमा विकसित थिएन, जन्मदा सबै सकुशल थिए”– डा अधिकारीले भने ।

राति नै तीनवटा बच्चाको मृत्यु भइसकेको छ । सुरुमा जन्मिएकी एक छोरी भने जीवितै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us