जनकपुरधाम, २६ असार – सप्तरीदेखि पर्सा जिल्लाका अति गरिब घरपरिवारका लागि एक गैरसरकारी संस्थाले घर निर्माण गर्ने भएको छ ।
ह्याविट्याट फर ह्युम्यानिटी नामक गैर संस्थाले सन् २०२० सम्म नेपालमा १० लाख घर निर्माण गर्ने अवधारणा अनुरुप ती जिल्लामा घर निर्माण गर्ने जनाइएको छ ।
संस्थाका प्रमुख, पदाधिकारी र जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाबीच भएको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
संस्थाका प्रमुख सन्देश पराजुलीले अर्थपूर्ण जीवनका लागि आवास मुख्य अभिप्रायले जिल्लाका सहकारी सङ्घसँग सहकार्य गर्दै घर निर्माणको योजना कार्यान्वयन गरिने बताए ।
उनका अनुसार संस्थाद्वारा यसअघि पोखरामा ४१ र काभ्रेमा ४२ वटा घर निर्माण गरी हस्ताक्षर गरिएको छ ।
नेपालका ५० जिल्लामा घर निर्माण गर्ने लक्ष्यअनुरुप चितवनको भरतपुरमा सुकुम्बासीका लागि १०० घर निर्माणको कार्य छिट्टै गरिने बताइएको छ । त्यस्तै सन् २०१५ मा पोखरामा १०० घर निर्माण गरिने योजना पनि रहेको छ ।
नेपालमा ७३ हजार परिवार सुरक्षित बासको पर्खाईमा रहेका र सन् २०२० सम्म सो सङ्ख्यामा वृद्धि भई २० लाख पुग्ने तथ्यलाई दृष्टिगत गर्दै संस्थाले १० लाख घर निर्माण गर्ने लक्ष्य राखेको प्रमुख पराजुलीले जानकारी दिए ।
जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले सप्तरीदेखि पर्सासम्ममा प्रत्येक जिल्लामा १०० घर निर्माण गरिने योजना रहेको प्रष्ट पारे ।