काठमाण्डु, २६ असार– क्यान्सरको उपचारका सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाको पाचौं चरणको रेडियोथेरापी सकिएको छ ।

न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यानसर सेन्टरमा बिहीबार रेडियोथेरापीको पाचौं डोज पूरा भएको हो । उनको गत बुधबारबाट रेडियो थेरापी सुरु भएको थियो । पाचौं चरणको थेरापी सकिएकाले कोइरालाले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्ने न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ ।
नियोगले जारी गरेको विज्ञप्तिमा अस्पतालले कोइरालालाई तीन महिनापछि पुन: परीक्षणका लागि आउन सुझाव दिएको उल्लेख छ ।
कोइरालासँगै रहेका नेपाली चिकित्सक करवीरनाथ योगीले रेडियो थेरापीको असर व्यवस्थापनका लागि विशेष चिकित्सकसँग सुझाव लिएपछि प्रधानमन्त्री स्वदेश फर्कने जनाएका छन् । नियोगको विज्ञप्तिमा विशेषज्ञ चिकित्सकसँगको सल्लाहपछि प्रधानमन्त्रीको स्वदेश फिर्तिको मिति तय हुने उल्लेख छ । चिकित्सकले कम्तिमा अझै एक साता आराम गर्न सुझाएका छन् ।
कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका सहयोगीले बताएका छन् । नेपालमा गरिएको परीक्षणमा फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइराला गत असार २ गते थप उपचारका लागि अमेरिका गएका थिए । अमेरिकामा गरिएको परीक्षणमा उनलाई क्यान्सर भएको पुष्टि भएको थियो ।