पुरुष स्वास्थ्यकर्मीले गराउँछन् सुत्केरी

काठमाण्डु टुडे २०७१ असार २६ गते ४:०७ मा प्रकाशित

बाजुरा, २६ असार– जिल्ला सदरमुकाम मार्तडी–१ ढम्कनेकी पञ्चा रोकायालाई बिहीबार साँझ सुत्केरी व्यथा लाग्ने बित्तिकै मार्तडी स्वास्थ्यचौकीमा लगियो ।

त्यहाँ महिला स्वास्थ्यकर्मी नभएर पुरुष स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन रोकाया बाध्य भइन् । करारमा रहेका अहेब खम्म मिजारले दिएको सेवाबाट उनले छोरा जन्माइन् । ‘नर्स होलान्, भनेर आएको,  त्यहाँ त पुरुष मात्र रहेछन्’।

रोकायाले भनिन्, ‘लाज मानेर भए पनि बाध्यताले सुत्केरी सेवा लिनुपर्‍यो ।’ पुरुष स्वास्थ्यकर्मीबाट सेवा लिँदा आफूलाई अप्ठेरो परेको उनले बताइन् । स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउने महिलालाई पुरुष स्वास्थ्यकर्मीले सेवा दिने गरेको स्वास्थ्यचौकीका अहेब मिजारले बताए । उनले आफूले प्रसूति तालिम नलिएको जानकारी दिए । तालिम नलिएको भए पनि अनमी नभएपछि बाध्यताले सेवा दिँदै आएको उनको भनाइ छ ।

उनले महिनामा तीन–चारजनाभन्दा बढीलाई सुत्केरी सेव दिँदै आएको उल्लेख गरे । करारमा नियुक्त भएकी चन्द्रा दानीको म्याद सकिएको, अनमी अनिता थापालाई जिल्ला स्वास्थ्य कार्यालयमा काजमा लगिएपछि महिला स्वास्थ्यकर्मी नभएको स्वास्थ्यचौकीका इन्चार्ज काशिचन्द्र जैसीले बताए ।

हाल स्वास्थ्यचौकीमा एक वरिष्ठ अहेब, एक अहेब र दुईजना पियन छन् । जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले आफूलाई यसबारे कुनै जानकारी नभएको दाबी गरे । उनले उक्त स्थानमा महिला स्वास्थ्यकर्मी पठाउने बताए ।
जिल्लाका मार्तडी, अटिचौर, साप्पाटा स्वास्थ्यचौकीमा तालिम नलिएका स्वास्थ्यकर्मीले प्रसूति सेवा दिँदै आएका वरिष्ठ अहेब दिलाराम भट्टले बताए । सुरक्षित सुत्केरी सेवाका लागि युनिसेफ, सुहारा, जिल्ला स्वास्थ्य कार्यालय लगायतका निकायले लाखौँ रकम खर्च गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us