एमाले महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु

काठमाण्डु टुडे २०७१ असार २६ गते २:३९ मा प्रकाशित

काठमाण्डु, २६ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा आजबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
Uml-new-logo

निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको कार्यतालिका अनुसार भोलि बिहान ८ देखि ५ बजेसम्म निर्वाचन हुने जनाएको छ । समितिले २ हजार १ सय ४६ मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ ।

बिहान साढे १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारीमाथि विरोध, उजुरी र नाम फिर्ता लिन चाहने उम्मेदवारलाई समय दिएर साँझ सात बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समिति अध्यक्ष सोमनाथ प्यासी अधिकारीले जानकारी दिए । एमालेको नयाँ विधानमा वरिष्ठ नेतासहित १५ पदाधिकारी र १४९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ ।

महाधिवेशनअघिको अध्यक्ष स्वत: वरिष्ठ नेता हुने भएकाले वरिष्ठ नेताका लागि भने निर्वाचन हुने छैन । पूर्वनिर्धारित कार्यतालिका अनुसार हिजै महाधिवेशन सकिनुपर्ने भए पनि प्रतिनिधि चयन र विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने/नगर्ने विषयमा भएको विवादका कारण महाधिवेशन लम्बिएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us