
काठमाण्डु, २५ असार – भारतीय जनता पार्टीले अमित शाहलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
यसअघिका अध्यक्ष राजनाथ सिंह गृहमन्त्री भएपछि भाजपाले शाहलाई नयाँ अध्यक्ष बनाएको घोषणा गरेको हो । एक व्यक्ति एक पद अनुसार शाहलाई अध्यक्ष बनाएको भाजपाले जनाएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने शाह हत्या जासुसीलगायत विभिन्न मुद्दामा अभियुक्त रहेको विविसीले जनाएको छ ।
गुजरातमा गृहमन्त्री रहँदा सिबिआईले पक्राउ गरेका शाह सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि लामो समयसम्म गुजरातमा प्रवेश गर्न दिइएको थिएन । सन् २००५ मा गुजरात प्रहरीले मुठभेडका नाममा गरेको एक दम्पत्तीको हत्यामा शाह पनि संलग्न रहेको अभियोग लागेको थियो ।
त्यो घटनामा संलग्न गुजरात प्रहरीका केही बरिष्ठ अधिकारीहरु अहिलेपनि थुनामा छन् । त्यस्तै शाहमाथि २००४ मा भएको एक कलेज विद्यार्थीको हत्या तथा २००९ मा एक महिलालाई जासुसी गराएको अभियोग पनि छ ।