काठमाण्डु, २५ असार – नेकपा एमालेको नवौं महाधिवेशनमा प्रतिनिधि चयन भएर आएका प्रवासी नेपालीहरुले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित कार्यक्रममा विभिन्न देशका प्रवासी प्रतिनिधिहरुले एमालेको नवौं महाधिवेशनले आगामी दिनमा पार्टीलाई सुदृढ र जिवन्त तुल्याउन पनि नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै अध्यक्षमा केपी शर्मा ओलीलाई महाधिवेशनमा निर्वाचित गर्नुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै अमेरिकाका प्रतिनिधि सञ्जय थापाले आफूहरु नवौं महाधिवेशन सवै दृष्टिकोणबाट महत्वपूर्ण भएको भन्दै प्रवासमा बस्ने सम्पूर्ण नेपालीहरुको दुःख, पीडा र समस्याको सम्बोधन होस् भन्ने हिसावले सहभागी भएको भन्दै पार्टीको नेतृत्व अब केपी शर्मा ओलीले गर्नुपर्ने बताए ।
उनले भने–झापा आन्दोलनको एउटा क्रियाशील नेता जसको जगमा नेकपा एमाले आज अगाडी बढेको छ, उसलाई किन एकपटक नेतृत्व नदिने ? त्यसैले जसको नीति उसको नेतृत्व भने झैं यसपटक केपी शर्मा ओली अध्यक्ष बन्नुहुन्छ । उनले ओली स्पष्ट दृष्टिकोण राख्ने, उग्रवामपन्थको विरोध गर्ने क्रियाशिल नेता भएकोले उहाँको विकल्प नभएको बताए ।
त्यस्तै नर्वेका प्रतिनिधि बुद्धिराम बन्जाडेले नवौ महाधिवेशन राष्ट्रिय राजनीतिमा पनि अत्यन्तै महत्वपूर्ण अर्थ राख्ने भएको हुँदा पार्टीको नेतृत्व केपी ओलीले नै गर्नुपर्ने जिकिर गरे । उनले भने–सामाजिक न्याय सिद्धान्तको हिसावले पनि जसको नीति उसको नेतृत्व हुनुपर्छ । पार्टीको पाँचौ महाधिवेशनदेखि हालसम्म पनि केपी ओलीको विचार पार्टीमा लागु भएको हुँदा अब उहाँको नेतृत्वको विकल्प छैन् ।
हामी प्रवासीहरु पनि नेतृत्व हस्तान्तरणको पक्षमा छौं । उनले अध्यक्षका अर्का प्रत्यासी माधव कुमार नेपालले पार्टी नेतृत्व लामो समय सम्म गरेको भन्दै अब अभिभावकीय भूमिकामा राख्नुपर्ने बताए ।
दक्षिण कोरियाका प्रतिनिधि कपिल न्यौपानेले पनि नवौं महाविधेशनले परिवर्तनकारी नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको भन्दै केपी ओलीलाई नै महाधिवेशनले अध्यक्ष निर्वाचित गर्ने ठोकुवा गरे । उनले भने–अधिकांश प्रतिनिधिहरु नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ । उहाँहरुले आफ्नो विवेक प्रयोग गरेर ओली कामरेडलाई अध्यक्षमा विजयी गराउनुहुनेछ ।
अष्ट्रेलियाका प्रतिनिधि रमेश पाण्डेले नेकपा एमालेभित्र नयाँपन ल्याउन पनि नयाँ नेतृत्वको आवाश्यकत्ता रहेको बताउँदै त्यसको नेतृत्व ओलीले गर्नुपर्ने बताए । उनले पार्टीको पाँचौ महाधिवेशनदेखि नै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको संरक्षण एवम् प्रर्वद्धन गर्न सक्रिय भूमिका निर्वाह गर्ने नेता केपी ओली भएको भन्दै अबको अध्यक्षमा उहाँको विकल्प नभएको ठोकुवा गरे ।
उनले माधव नेपाल पहिल्यै नै एमालेमा असफल नेता भैसकेको भन्दै त्यस्ता परिक्षण भएर फेल भएका नेता फेरि नेतृत्वमा आए पार्टी पुरानै ढर्राले चल्ने पनि बताए ।
उनले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब मुलुक रुपान्तरणका लागि पनि आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसको अगुवाई नेकपा एमालेले गर्नुपर्नेमा जोड दिए ।
अर्का अमेरिकाका प्रतिनिधि टेकराज पौडेलले नवौ महाधिवेशन मुलुकमा आर्थिक समृद्धि हासिल गर्न कोशेढुँगा सावित हुने भन्दै अब आर्थिक क्रान्तिमा जोड दिनपनि मुलुकका लाखौं युवापँक्तिलाई उत्पादनमुखी काममा लगाउनुपर्ने धाराणा राखे र त्यसको नेतृत्व अब नेता ओलीले मात्रै गर्न सक्ने विश्वास व्यक्त गरे ।