विपक्षी दल संयुक्त अवधारणा सहमति नजिक

काठमाण्डु टुडे २०७१ असार २४ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २४ असार– पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि अपनाउनुपर्ने आधारका विषयमा एकीकृत नेकपा (माओवादी) सहति प्रतिपक्षी सात राजनीतिक दल सहमति नजिक पुगेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  निवास लाजिम्पाटमा मंगलबार बसेको सात दल बैठकले संविधान निर्माणमा सहज वातावरण तयार पार्ने ध्येयका साथ कार्यसूची मिल्ने दलबीच सहमति कायम गर्ने र त्यसका लागि आधारपत्र बनाउने निष्कर्ष निकालेको हो ।

बैठकमा सङ्घीय प्रणाली, न्यायापालिका, शासकीय स्वरुप र निर्वाचन प्रणालीको विषयमा सहमति नजिक पुगेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

राज्य पुन:संरचना गर्दा बढीमा १४ र घटीमा १० प्रदेश पहिचानका आधारमा निर्माण गर्नुपर्ने, न्यायपालिकालाई सङ्घीय न्यायापालिकाको संज्ञा दिनुपर्ने, समावेशी– समानुपातिक प्रतिनिधित्वलाई व्यावहारिक रुपमा नै आत्मसात् गर्नुपर्ने विषयमा समान धारणा बनाइएको हो ।

यस्तै बैठकले कार्यसूची मिल्ने संविधानसभाभित्रका अन्य दल र संविधानसभा बाहिरका अन्य दलसाग पनि मिलेर काम गर्ने निष्कर्ष निकालेको महासचिव श्रेष्ठले जानकारी दिए ।
बैठकमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीका शीर्ष नेता सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us