पक्ष/विपक्षमा लागेपछि एमालेका स्वयम् सेवक घर पठाइने

काठमाण्डु टुडे २०७१ असार २४ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, २४ असार– महाधिवेशनमा खटिएका पार्टीका स्वयम् सेवक नै समूहगत पक्ष विपक्षमा लागेपछि उनीहरूलाई बुधबारदेखि बिदा दिइने भएको छ ।
uml volunteerबन्दसत्रका अन्य गतिविधि सकिएर निर्वाचनको तयारी भइरहेकाले पनि पार्टीका स्वयम् सेवकलाई हटाउने निर्णय अध्यक्ष मण्डलले गरेको हो ।

निर्वाचनका समयमा बन्दसत्रको सुरक्षा राज्यका सुरक्षा निकायले गर्ने एमालेको पूर्ववत तयारी थियो । पार्टीको सहयोगी काममा खटिएका स्वयम्सेवक पक्ष र विपक्षमा प्रचारबाजी गर्नसमेत जुटेको देखिएकाले उनीहरूलाई अबभित्र प्रवेशमा निषेध गरिने सुरक्षा उपसमितिका संयोजक तथा पार्टीका सचिव विष्णु पौडेलले जानकारी दिए ।

एमालेले महाधिवेशनमा २ सय ३० स्वयम्सेवक खटाएको छ । कतिपय स्वयम्सेवक आफ्नो अनुकूलतामा पार्टीले दिएको पोशाक प्रयोग नगरी समूहको प्रचारमा हिँड्ने गरेका देखिन्छन् भने कतिपय स्वयम्सेवक आफ्नो समूहका पक्षमा सञ्चारकर्मी र प्रतिनिधिलाई प्रभावित गर्न पनि तम्सिएका छन् ।

अध्यक्ष मण्डलले जारी गरेको आचारसंहितामा बन्दसत्र स्थलमा कुनै पक्षको प्रचार सामग्री वितरण गर्न र प्रचार गर्न नपाइने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us