काठमाण्डु, २४ असार– एमाले उपत्यका इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ फेरि केपी शर्मा ओली पक्षमा फर्किएका छन् ।
श्रेष्ठ पछिल्लो समय खुलेरै अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल समूहको चुनाव प्रचारमा जुटेका थिए । खोलीका विश्वासपात्र मानिने श्रेष्ठ संविधानसभा उपनिर्वाचनमा काठमाण्डु–२ मा उम्मेदवार बनाउन भूमिका खेलेका कारण नेपालतिर लागेका थिए ।
संविधानसभा निर्वाचनमा रौतहटबाटसमेत जितेका नेपालले उक्त क्षेत्र छाडेका थिए । श्रेष्ठले मंगलबार विज्ञप्ति जारी आफू नवौं महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताएका छन् ।
‘मेरा मनमा पार्टीका सबै नेताहरुप्रति उत्तिकै आदर र सम्मान छ, तर यस अधिवेशनमा मैले आफूलाई नेतृत्व हस्तान्तरणको पक्षमा उभ्याएको छु’, विज्ञप्तिमा श्रेष्ठले भनेका छन्, ‘सोहीअनुसार निर्णय लिन सबै प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।’
केही दिनअघि कमलादीस्थित प्रज्ञा भवनमा भएको नेपाल पक्षीय भेलामा उनले ओलीको उछितो काढ्दै एमालेमा नेपालको विकल्प नरहेको अभिव्यक्ति दिएका थिए ।
भेलामा उनले ओली र बामदेव गौतमको समीकरणलाई अपवित्र गठबन्धनको संज्ञा दिएका थिए । ओलीले श्रेष्ठसँग सोमबार बालकोटस्थित निवासमा भेटेका थिए । ओली निवासबाट श्रेष्ठ ओलीकै गाडीबाट भृकुटीमण्डपस्थित महाधिवशेन स्थलमा ओर्लिएका थिए ।