काठमाण्डु,२४ असार – नेपाल विद्यार्थी सङ्घको ११ औंँ महाधिवेशन आगामी भदौ २९, ३० र ३१ गते गर्नका लागि मातृ पार्टी नेपाली काँग्रेसको निर्देशनमा तालिका सार्वजनिक गरिएको छ ।
नेविसङ्घ केन्द्रीय समितिको यही असार १ र २ गते बसेको बैठकले सङ्घको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरी काँग्रेसका महामन्त्री एवं निर्देशन समितिका संयोजक प्रकाशमान सिंह समक्ष अनुमोदनका लागि पेस गरेको थियो ।
सोअनुसार महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरी यथासम्भव जिल्ला, विश्वविद्यालय तथा क्याम्पस एकाइलाई अधिवेशन गर्न निर्देशन दिइएको विद्यार्थी विभागका प्रमुख नवीन्द्रराज जोशीले बताए । साथै तोकिएको समयावधिभित्र अधिवेशन सम्पन्न नगर्नेलाई महाधिवेशनमा संलग्न नगराउनसमेत निर्देशन गरिएको उनलृ जानकारी दिए ।
कार्यतालिकाअनुसार आगामी साउन १० गते विदेशस्थित सङ्घका जनसम्पर्क समिति र काठमाडौँ उपत्यका क्याम्पस अधिवेशन, साउन १८ गते जिल्ला अधिवेशनको नामावली प्रकाशन, साउन २० गते जिल्ला अधिवेशन र स्ववियु नभएका क्याम्पसमा प्रतिनिधि छनोट सम्पन्न हुने विद्यार्थी विभागका प्रमुख जोशीले बताए ।
त्यसैगरी साउन २५ गते सबै जिल्ला तथा क्याम्पसले प्रतिनिधि पठाइसक्ने अन्तिम समय तोकिएको साउन ३० गते अधिवेशन भएका जिल्ला तथा क्याम्पसले प्रतिनिधिको नामावली केन्द्रमा पठाइसक्ने र भदौ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिएको छ ।
नेविसङ्घले भदौ ९ गते प्रतिनिधिको नामावलीमाथि दाबीविरोध गर्ने र भदौ १५ गते छानबिन गर्ने समय तोक्नाका साथै भदौ २० गते अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
यस अघि पटक पटक मिति तोकिँदै सर्दै आएको संघको महाधिवेशन यस पटक पार्टीको अग्रसरतामा हुन लागेकाले तोकिएको समयमै हुनेमा विद्यार्थी नेताहरु आशावादी देखिएका छन् । रासस