पिउने पानीको अभावमा बसाईं सर्ने क्रम बढ्यो

काठमाण्डु टुडे २०७१ असार २४ गते ४:०० मा प्रकाशित

इलाम, २४ असार– इलामको सोयाक गाविसका बासिन्दा खानेपानीको समस्या चर्कंदै गएपछि गाउँ नै छाडेर बसाईं सराई सर्न थालेका छन् ।

सदरमुकामसँग सीमा जोडिएको उक्त गाविसका बासिन्दा खानेपानीको समस्या झेल्न नसकेर पुख्र्याैली थलो छाड्न बाध्य भएका हुन् । ‘सम्म परेका टारबारी र रमाइलो गाउँ छाडेर अन्त जान मन थिएन’, सोयाक–७ डाँडागाउँका घनश्याम आचार्य भन्छन्, ‘पानी भइदिएको भए पितापुर्खाले चर्चेको जसिमन छाडेर बसाइँ सर्नुपर्ने थिएन ।’

पिउने पानीका लागि घण्टौं धाउनुपर्ने बाध्यताका कारण चार दर्जनभन्दा बढी परिवारले गाउँ छाडेका छन् । अधिकांश तराईका जिल्लामा झरेका छन् । विद्यालय, उपस्वास्थ्यचौकी र गाविस कार्यालयमा पनि पानी छैन ।

२०४७ मा करिब तीन किलोमिटर टाढा सोयाक–६ बाट पानी ल्याएर २७ धारा सञ्चालन गरिएको थियो । तर त्यहाँका बासिन्दाले आफूहरूलाई खानेपानी अभाव भएको भन्दै पानी दिन नमानेपछि पानी अभाव भएको गाउँलेहरु बताउँछन् ।

स्थानीयले खानेपानीक समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us