काठमाण्डु, २४ असार– संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको प्रारम्भिक वार्ता समितिले मंगलबार पनि संविधानसभाबाहिरका दलसँग छलफल गरेको छ ।
संविधान निर्माणका क्रममा देखिएका असहमतिका विषय पहिचान गरी सहमति कायम गर्ने प्रयासमा उपसमितिले सोमबार र मंगलबार गरी संविधानसभा निर्वाचनमा पराजित भएका ४५ वटा दलहरुसँग परामर्श गरेको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा मंगलबार भएको छलफलमा ४६ दललाई बोलाइए पनि २८ दलका प्रतिनिधि सहभागी भएको उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । उपसमितिले सोमबार १७ दलसँग छलफल गरेको थियो ।
छलफलका क्रममा संविधान निर्माणका सन्दर्भमा धारणा लिने काम भएको ढुंगानाले बताए । दुवै वार्तामा छुटेका दलसँग फेरि अर्को मिति तय गरेर पुन: वार्ता गर्ने ढुंगानाले जानकारी दिए ।
संविधान निर्माण कार्यातालिका अनुसार उपसमितिले संविधानसभाबाहिर र भित्रका दलसँग छलफल गरी भदौ दोश्रो सातासम्ममा प्रतिवेदन दिनुपर्नेछ ।