काठमाण्डु, २४ असार– एमाले अध्यक्ष झलनाथ खनालले भावी अध्यक्षमा माधवकुमार नेपाललाई सघाउने भएका छन् ।
निर्णायक मानिएका खनाल आफूतिर ढल्किएपछि जित सुनिश्चित भएको दाबी नेपाल समूहको छ । यसअघि नेपाल र अध्यक्षका अर्का दाबेदार केपी शर्मा ओली दुवै समूहले खनालको समर्थन लिन दौडधुप गरेका थिए ।
आफू पक्षका अधिकांश नेता पहिल्यैदेखि नेपालको पक्षमा खुले पनि खनाल भने तटस्थ देखिँदै आएका छन् । खनाल निकट युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, पशुपति चौलागाई, भीम आचार्य, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, अरुण नेपाल, ठाकुर गैरे र रामकुमारी झाँक्री नेपालको चुनावी अभियानमा खुलेरै लागेका छन् ।
नेता योगेश भट्टराईले विधानमाथिको छलफल सकिए आजै खनाल–नेपाल समूहको संयुक्त प्यालन घोषणा हुने बताए । सबै तयारी पूरा भए पनि विधानमा पदाधिकारी संख्या किटान नभएका कारण प्यालन घोषणा नभएको जानकारी उनले दिए ।
यसअघि हिजै नेपाल–खनाल समूहले प्यानल घोषणाको तयारी गरेको थियो । भट्टराईले खनालको समेत समर्थन पाएका कारण दुई सयभन्दा बढी मतले अध्यक्षमा नेपाल विजयी हुने दाबी गरे । ‘महाधिवेशनमा हाम्रो समूहले जित्ने पक्का छ’, भट्टराईले काठमाण्डु टुडेसँग भने, ‘झलनाथको पासमा माधव नेपालले गोल गर्छन् ।’
नेता नेपालले आइतबार डल्लुस्थित निवासमै भेटेर खनाललाई आफूलाई सघाउन आग्रह गरेका थिए ।