सभासदलाई पाँच करोड दिने कुरा हल्ला मात्र : अर्थमन्त्री

काठमाण्डु टुडे २०७१ असार २४ गते ८:२६ मा प्रकाशित

काठमाण्डु, २४ असार– अर्थमन्त्री रामशरण महतले सरकारले सभासदलाई पाँच करोड दिने तयारी नगरेको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । सभासदलाई ramsharanसांसद क्षेत्र विकास कोषमार्फत पाँच करोड नदिन माग गर्दै मंगलबार अर्थ मन्त्रालय पुगेको एमाओवादी भातृ संगठन योङ कम्युनिष्ट लिग ‘वाइसीएल’ प्रतिनिधि मण्डलसँग महतले पाँच करोड नदिने प्रष्ट्याएका हुन् ।

वाइसीएल नेवा: राज्य समिति संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखाले महतले कुनै हालतमा पैसा नबाँड्ने प्रतिबद्धता जनाएको बताए । ‘सभासदलाई पाँच करोड दिन लागिएको भन्ने कुरा विल्कुल असत्य हल्ला हो’, महतको भनाई उद्धृत गर्दे मापकोटाले भने, ‘यस्तो हल्लामा विश्वास नगर्न मेरो सबैलाई आग्रह छ ।

उनका अनुसार महतले रकम दिन आफूमाथि दबाब भने आइरहेको बताए । कसले र कसरी दबाब दिएको भन्ने चाहिं उनले खुलाएनन् । वाइसीएलले भने सभासदलाई पाँच करोड दिनै परे सभासदले व्यक्तिगत तजबिजमा खर्च गर्न पाउने गरी नभई कानुन बनाएर मात्र दिन ध्यानाकर्षण गराइएको बताए ।

‘सभासदले मनलाग्दी खर्च गर्ने गरी राज्य कोषको रकम बाँड्न पाइँदैन’, सापकोटाले भने, ‘जथाभावी रकम बाँड्दा दुरुपयोग हुन्छ, दिनै हुँदैन भनेका छैनौं, कानुन बनाएर दिनुपर्‍यो । ’ काँग्रेस–एमालेसहित सत्ता पक्षका सभासदले २ सय ४० वटै क्षेत्रका प्रत्यक्ष निर्वाचन सभासदलाई ५ करोडका दरले रकम दिन माग गर्दै आएका छन् ।

सरकार नेतृत्वकर्ता दल काँग्रेसको केही दिनअघि बसेको केन्द्रीय समिति र सभासदको संयुक्त बैठकले आगामी आर्थिक वर्षको बजेटमा सभासदलाई पाँच करोड उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो ।
अध्यक्ष गणेशमान पुनको नेतृत्वमा गएको वाइसीएल टोलीले बेरोजगार युवाहरुलाई भत्ता दिइनुपर्ने, रोजगारीका लागि युवा विदेशिने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने लगायतका माग राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us