छोरी जन्माएको आरोपमा परिवारै मिलेर घर निकाला

काठमाण्डु टुडे २०७१ असार २४ गते २:०१ मा प्रकाशित

सप्तरी, २४ असार– छोरी जन्मेको आरोपमा घरेलुहिंसामा परेकी सप्तरी ठेलिया–७ गोरपारकी १८ वर्षीया मनिता कुमारी खङ्गले जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

मनिताले पति देवनारायण, ससुरा लक्ष्मण, सासू सरस्वती र जेठाजु सुरजा खङ्गबाट घरेलु हिंसा भएको भन्दै मुद्दा दर्ता गरेकी हुन् ।

पीडितको निवेदनमा छोरी जन्मेको दोष दिँदै आरोपीहरुले थप दाइजो मागेर गालीगलौज र कुटपिट गर्ने गरेको उल्लेख छ ।

छोरीको जन्मदर्ताका लागि गाविस कार्यालय गएपछि श्रीमानसहित परिवारका सबै मिलेर घर निकाला गरेको उनले बताइन् । उजुरीमा सात महिने छोरी आफूसँग राख्न पाउनुपर्ने माग गरेकी छन् ।

यस्तै छोरीको पालनपोषणका लागि माशिक सात हजार रुपैयाँ उपलब्ध गराउन भनेकी छन् । उनीहरुको सामाजिक परम्पराअनुसार दुई वर्षअघि विवाह भएको थियो । घरबाट निकालिएपछि पीडित मनिता लोहजरा–८ स्थित माइतीघरमा बस्दै आएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us