काठमाण्डु, २३ असार– एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओली पक्षले आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको दाबी गरेको छ ।
सो पक्षको सचिवालयले तयार पारेको प्रतिनिधिको तथ्याङ्मा नेपालभन्दा ओलीले ३ सय १६ मत ल्याएर अध्यक्षमा विजयी हुने उल्लेख छ । काठमाण्डु टुडेलाई उपलब्ध गराइएको तथ्याङ्कमा कुल २१७६ प्रतिनिधिमध्ये ओलीले १२४६ र नेपालले ९३० मत ल्याउने दाबी छ ।
‘ओलीको जित निश्चित भइसकेको छ’, पत्रकारसमेत रहेका सो पक्षका प्रचार संयोजक एवम् केन्द्रीय सदस्यका उम्मेदवार प्रमोद दाहालले काठमाण्डु टुडेसँग भने, ‘ओली कमरेड ३ सय १६ मत बढी ल्याएर जित्नुहुन्छ ।’
ओली पक्षले मेचीमा कुल ११८ मध्ये ६५ ओली र ५२ नेपाल, कोसीमा १४८ मा ६९ ओली र ७९ नेपाल, सगरमाथा ८८ मा ओली ४९ र नेपाल ३६, जनकपुर ८६ मा ओली ३५ र नेपाल ५०, नारायणी १४१ मा ओली ६३ र नेपाल ७५, उपत्यकामा १०७ मा ओली ५० र नेपाल ५७, बागमतीमा १३१ मा ओली ६३ र नेपाल ६८, गण्डकी १२७ मा ओली ९५ नेपाल ३२, लुम्बिनी/धौलागिरिमा १३१ मा ओली ८६ र नेपालको ३५ देखाइएको छ ।
यस्तै लुम्बिनीमा ११२ मा ओली ८१ र नेपाल ३१ राप्ति/कर्णालीमा १२७ मा ओली ८७ र नेपाल ४०, भेरी १२२ मा ओली ७० र नेपाल ५२ सेती १०३ मा ओली ४८ र नेपाल ५५, महाकालीमा ९६ मा ओली ४५ र नेपाल ५१, प्रवासमा ५२ मा ओली २२ र नेपाल २४, जनसंगठनमा ६५ मा ओली ५५ र नेपाल १४ महासंघहरुमा १३० मा ८६ ओली र ६२ नेपाल, निकाय, विभाग र केन्द्रीय कार्यालयमा ६२ मा ओली ३७ र नेपाल ३२, सल्लाहकार, ज्येष्ठ सदस्यमा ९७ मा ओली ६७ र नेपाल ३० र केन्द्रीय समितिमा ११५ मा ओली ६६ र नेपाल ४७ देखाइएको छ ।
तथ्याङ्कमा कोशीमा १०, जनकपुरमा १५, नारायणीमा १२, उपत्यकामा ७, बागमतिमा ५, सेतीमा ७, महाकालीमा ६ र प्रवासमा २ मतले नेपाल अगाडि रहेको देखाएको छ । अन्य सबै क्षेत्रमा ओली पक्ष अगाडि छ । यस्तै अनुपस्थित ४४ मध्ये ओली पक्षका २९ र नेपाल पक्षका १५ छन् ।