पत्रकार रिले अनसनमा

काठमाण्डु टुडे २०७१ असार २३ गते १२:३८ मा प्रकाशित

काठमाण्डु २३ असार – वर्गीकरणमा परेका सञ्चारमाध्यमलाई गत वर्षको साउनदेखि लागू हुने गरी लोककल्याणकारी विज्ञापनमा वृद्धि गरिएको २५ प्रतिशत रकम तत्काल भुक्तानी नगरेसम्म पत्रकारहरुले निरन्तर आन्दोलन गर्ने भएका छन् ।

सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशत रकम बढाउने घोषणाको तत्काल कार्यान्वयनमा ल्याउनका लागि दबाब स्वरुप नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा आजदेखि सूचना विभागको मूल ढोकामा रिले अनसन सुरु भएको छ ।

रिले अनसनमा महासङ्घका केन्द्रीय सदस्य एवम् उपत्यका सङ्घर्ष समितिका संयोजक ईश्वरी वाग्ले, महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईं, ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने र भक्तपुरका अध्यक्ष अमर भुजुलगायत पाँच दर्जनभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

आज बिहान ९ बजेदेखि सुरु गरिएको रिले अनसन आफूहरुको माग पूरा नगरेसम्म निरन्तर जारी रहने र यो भन्दा पनि कडा आन्दोलनमा उत्रन परे पनि पछि नपर्ने सङ्घर्ष समितिका संयोजक वाग्लेले बताए ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै सरकारले घोषणा गरेको २५ प्रतिशत वृद्धि रकम सबैले पाउनुपर्ने काग गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us