काठमाण्डु, २३ असार – संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधान निर्माणबारे संविधानसभा बाहिरका साना दलहरुसँग छलफल गरेको छ ।
संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरुको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको उपसमितिका सदस्य अशोक राईले जानकारी दिए ।
बैठकमा ४२ दललाई आमन्त्रण गरिएकामा १२ दलमात्र उपस्थित भएको जानकारी दिँदै उपसमिति सदस्य राईले भने – “सङ्कलित सुझाव सम्पादन गरी मूल समितिमा पेस गरिने र त्यहाँ छलफल गरी टुङ्गो लगाइनेछ ।”
संविधानसभा बाहिरका दलको सहभागिता हाल संवादबाट सुरु भएको र आगामी दिन राजनीतिक सम्मेलन वा प्राथमिक मस्यौदामाथि जनतामाझ हुने छलफलका माध्यमबाट पनि सहभागिता गराइने उनले बताए ।
सोमबारको बैठकमा उपस्थित दलहरुले आ–आफ्नो दलको घोषणापत्रअनुसार सङ्घीयताबारे धारणा राखेको छलफलमा सहभागी शान्ति पार्टी नेपालका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
बैठकमा सबै दलको राय सङ्कलन गर्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने छ । रासस