भक्तपुर, २३ असार – नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले विभिन्न माग राखेर शिक्षा विभाग सानोठिमीको मूल ढोकामा धर्ना दिएको छ ।
सोमबार बिहान ९ बजेदेखि राहत शिक्षक धर्नामा बसेपछि विभागका कोही पनि कर्मचारी कार्यालयभित्र पस्न पाएका छैनन् ।
पटकपटक आफ्नो माग राखेर शान्तिपूर्ण आन्दोलन गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर अनिश्चितकालीन धर्नामा बस्नु परेको सङ्घर्ष समितिका अध्यक्ष कोवाङ चुलामाले बताए ।
शिक्षा ऐनमा राहत शिक्षकलाई राहत मात्र उल्लेख गरिएको तर राहत शिक्षक भनेर उल्लेख नगरिएकाले ऐनमा राहत शब्द मात्र नराखी राहत शिक्षक राखिनुपर्ने, पोशाक भत्ता, महँगी भत्ता, दुर्गम भत्ताको व्यवस्था हुनुपर्ने लगायतका माग समितिले अघि सारेको हो ।
माग सम्बोधन नभएसम्म दैनिक धर्ना दिइने र विभागको कामकाज ठप्प पार्ने राहत शिक्षकहरुले बताएका छन् । कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न नदिएपछि विभागको काम कार्वाही ठप्प भएको छ । रासस