दार्चुला, २३ असार – जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लामा रहेका सबै विद्यालयलाई ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जिपिएसमा राख्ने काम सम्पन्न गरेको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ ।
नेपाल सरकारले देशैभरका सामुदायिक तथा निजी विद्यालयलाई जिपिएसमा नीति ल्याएपछि दार्चुलाका १८ वटा स्रोत केन्द्रका ३३३ विद्यालयमा नक्साङ्कन गरिएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ । विद्यालयलाई ग्लोवल पोजिसनमा राखिएपछि व्यवस्थित गर्न सजिलो हुने बताइएको छ ।
यो प्रविधिले विद्यालय रहेको स्थानको अक्षांश र देशान्तर समुद्री सतहदेखि उचाइ तथा जिल्ला सदरमुकामदेखि दूरीसमेत पत्ता लाग्ने तथा विद्यालय व्यवस्थापन, समायोजन तथा स्रोत स्तरोन्नतिका लागि सहयोग पुग्ने जिल्ला शिक्षा कार्यालय दार्चुलाका विद्यालय निरीक्षक जयराज पन्तले बताए ।
स्रोत व्यक्तिमार्फत् विद्यालय नक्साङ्कनको काम गरिसकिएको छ । सबै स्रोत केन्द्रबाट यस्ता विवरण आइसकेको र अबको केही दिनभित्रै ल्यसलाई शिक्षा कार्यालयमा पठाइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस