काठमाण्डु २३ असार – नेकपा एमाले नवौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयन नगर्दा युवा नेता मारमा परेका छन् ।
विसं २०४२ देखि एमालेबाट राजनीतिको यात्रा सुरु गरेकी युवा नेत्री धनकुमारी सुनार आफू मनोनीत भएपछि केन्द्रीय सदस्यमा उठेर विजयी हुने तयारीमा थिइन् तर पार्टीको आन्तरिक समस्याका कारण पाँच प्रतिशत मनोनीत नहुँदा उनलाई पीडा महसुस भएको छ ।
“पार्टीको विधानले पाँच प्रतिशत मनोनीत गर्ने भनेर प्रष्ट उल्लेख गरेको छ”, २५ वर्ष लामो एमाले राजनीतिमा लागेकी नेत्री सुनारले पार्टीप्रति गुनासो गर्दै भनिन्, “मनोनीत भएको भए केन्द्रीय सदस्यमा जित्ने मेरो पक्का थियो तर मेरो सपना त्यत्तिकै खेर गयो ।”
“पार्टीले आफ्नो घोषणापत्रमा नै ३३ प्रतिशत महिला सुनिश्चित गर्ने भनेर लेखेको छ, अहिले महिला जम्मा २१ प्रतिशतमात्रै छन्”, उहाँले थप्नुभयो, “पार्टीको आन्तरिक विवादका कारण सक्षम महिला नेत्री पनि चन्ने र चुनिने अधिकारबाट वञ्चित छन् ।”
पाँच प्रतिशत पार्टीले मनोनीत गरेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने योजना सुनारको मात्र हैन, महाकाली अञ्चल कमिटी सचिव रामकुमार ज्ञवालीको पनि पाँच प्रतिशत मनोनीतमा पक्का थियो र केन्द्रीय सदस्य बन्ने योजना थियो । तर त्यो योजना सपना सीमित भयो ।
“पार्टीको चरम गुटबन्दीको मारमा परे, पाँच प्रतिशत (१११ जना) पार्टीका प्रतिनिधि भनेको सानो कुरा होइन, २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रियरुपमा राजनीतिमा लागेका नेता ज्ञवालीले भने, “नेताहरु नेपाल र ओलीपक्षको गुटबन्दीका कारण राजनीतिक भविष्य बोकेका युवा बाहिरिनुपर्यो ।”
एमाले विधानले पाँच प्रतिशत प्रतिनिधि मनोनीत गर्ने भनिए पनि भागबन्डामा कसैलाई बढी र कसैलाई कम पर्ने भन्दै आन्तरिक विवादका कारण मनोनयन हुन सकेन ।
“देशभरिबाट महिलाका मुद्दा उठिरहेको बेलामा, नीति निर्माण तहमा पुग्नुपर्ने धेरै महिला प्रतिनिधि नै बन्न सकेनन्”, २०४२ सालदेखि विद्यार्थी राजनीतिबाट एमाले राजनीतिमा सक्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तले भनिन् , “पार्टी विधानले दिएको अधिकारलाई पनि नेताहरुले वास्ता गरेनन्, ३३ प्रतिशत महिलाको कुरा उठाएर पार्टी ३३ प्रतिशत महिला प्रतिनिधि हुनबाट समेत वञ्चित गर्यो ।”
“नेपाल र ओली समूहको गुटबन्दी र तीव्र प्रतिस्पर्धाका कारण पार्टीले कार्यकर्ताको भावना बुझ्न सकेन”, युवा नेता लक्ष्मण केसीले थपे , “सक्षम, योग्य युवा नेतृत्वको योगदानलाई पार्टी नेताले बुझ्न सकेनन् ।”
“मनोनीतको व्यवस्था नभएको भए आ–आफ्नो ठाउँबाट चुनिएर प्रतिनिधि आएर केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिइन्थ्यो” नेता केसीले जोडिन् , “पार्टीमा गुट उपगुटलाई मिलाएर, पार्टी एकढिक्का हुनुपर्छ भन्ने युवा पङ्ति नै बाहिर छ ।”
पाँच प्रतिशतभित्र मनोनीतमा परेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने इच्छा भएका युवा नेताहरुमा रुपनारायण श्रेष्ठ, भेषराज अधिकारी, देवशङ्कर पौडेल, गिरीराजमणि भण्डारी, टङ्क राउत, उषाकला राई, रानी गुरुङ, कमला पराजुलीलगायत रहेका छन् । रासस