फोन र फेसबुकबाट धम्काउने युवा पक्राउ

काठमाण्डु टुडे २०७१ असार २३ गते ८:०० मा प्रकाशित

प्युठान, २३ असार – फोन र फेसबुकबाट अर्काको श्रीमतीलाई धम्काउने तीन युवा प्रहरीको फन्दामा परेका छन् ।

उत्तरी प्युठानको लुङ–६ वाहानेका हीराबहादुर बुढामगर, विक्रम बुढामगर र खवाङ–८ प्युठान घर भई धर्मावति–१ वाग्दुलामा बस्ने एकान्त झाँक्रीमगरलाई साइवर अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

दाङ घोराईस्थित गौरीशङ्कर ओभरसिज प्रालिका यादव सैघाँलीको श्रीमतीलाई लगातार फोनमार्फत नराम्रो शब्द प्रयोग गरी धम्काएको र श्रीमान्लाई समेत अनावश्यक शब्द प्रयोग गरी धम्काएको उजुरीका आधारमा ती युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान र दाङले संयुक्त पहलमा युवालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको दाङका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए ।

प्रहरीले फेसबुकमार्फत धम्काउने तथा सैघाँली श्रीमतीको फेसबुकमा अश्लील फोटो राखेको आशङ्कामा युवालाई पक्राउ गरे पनि त्यसमा उनीहरुको संलग्नता रहे नरहेको अनुसन्धान भइरहेको प्युठानका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

अन्दाजी २५ वर्षीया जागिरे महिलाको फेसबुकमा अरु कसैको नाङ्गो फोटोमा उहाँको टाउको जोडी फेसबुकमा फोटो राख्ने र सैघाँलीको फेसबुकमा फोटो पठाउनेको प्रहरी अपराध अनुसन्धान महाशाखाले खोजी कार्य तीव्र पारेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us