काठमाण्डु, २३ असार– नेपाल—भारत द्विपक्षीय परामर्श समूहको सुरक्षासम्बन्धी दुईदिने बैठकले सैन्य तालिम, प्रतिरक्षा सामग्री र सुरक्षाको विषयमा एक–आपसमा मिलेर काम गर्ने सहमति गरेको छ ।
सोमबार सम्पन्न बैठकले द्विपक्षीय सूचना आदान प्रदान र सुरक्षात्मक सन्दर्भमा मिलेर जान सकिने क्षेत्रहरुको पहिचानलगायतका विषयमा सहमति जुटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकले विगतमा भएका निर्णयको प्रगति समीक्षा र आगामी वर्षमा हुने आपसी सहयोग सम्बन्धमा छलफल गर्नुका साथै समितिको १२ औं बैठक सन् २०१५ मा भारतमा आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाल र भारतले आलोपालो रूपमा आयोजना गर्दै आएको बैठकमा सुरक्षा चासोका विषय नै प्रमुख एजेण्डा बन्दै आएको छ ।
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गरेका थिए भने भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर नेतृत्वको टाली सहभागी थियो ।