एमालेमा पदाधिकारी नथप्न दबाब

काठमाण्डु टुडे २०७१ असार २३ गते ३:३१ मा प्रकाशित

काठमाण्डु, २३ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा सोमबारबाट राजनीतिक र संगठनात्मकसहित विभिन्न ६ वटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । Uml-new-logo

बन्दशत्रमा सोमबार ९ टोली नेताले आफ्नो समूहको निष्कर्ष पेस गरे । समूहगत छलफलका लागि १९ वटा समूह बनाइएको थियो । सोमबार सल्लाहकार समितिबाट गोपाल शाक्य, उपत्यकाबाट टंक कार्की, धवलागिरि/लुम्बिनीबाट मन केसी, जनवर्गीय संगठनबाट महेश बस्नेत, जनकपुरबाट लक्ष्मण पौडेल, नारायणीबाट रामकुमार भट्टराई
राप्ति/कर्णालीबाट कुमार दसौंदी, गण्डकीबाट रामनाथ अधिकारी र केन्द्रीय कार्यालय/विभागबाट सूर्य थापाले आफ्नो समूहको धारणा राखेका छन् ।

अधिकांश टोली नेताले अध्यक्ष झलथान खनालको राजनीतिक प्रतिवेदनमा समर्थन जनाएका छन् । केही समूहका नेताले विधान संशोधन गरी पदाधिकारी थप गर्न लागिएकामा असन्तुष्टि जनाएका छन् । उनीहरुले पदाधिकारी थप गर्दा जिम्मेवारी पहिल्यै ठोस गर्नुपर्ने बताएका छन् ।
बन्दसत्रमा राजनीतिक, संगठनात्मक, विधान संशोधन, अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदन पेस भएका थिए । यसैबीच
अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी ओली पक्षको विवादका कारण रोकिएको
भेरी र सगरमाथा अञ्चलमा टोली नेता चयन भएको छ । भेरीमा ओली पक्षका यमलाल कँडेल र सगरमाथामा नेपाल पक्षका यज्ञराज सुनुवार चयन भएका हुन् । प्रचार विभाग सचिव सूर्य थापाले मंगलबार प्रतिवेदनमाथि समूहगत छलफल सकिने बताए ।
समूहगत छलफलको निष्कर्ष टोली नेताले पेस गरेपछि प्रतिवेदनहरु आवश्यक संशोधनसहति पारित हुने एमालेले जनाएको छ । प्रतिवेदन पास भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

नेपाल पक्षको असहमतिका कारण निर्वाचनमा विद्युतीय भोटिङ मेशिन प्रयोग नुहने भएको छ । नेपाल पक्षले भोटिङ मेशिनको विश्वसनीयतामा प्रश्न उठाएपछि मतपत्रमा मतदान हुने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us