महिला र बालबालिका उच्च जोखिममा

काठमाण्डु टुडे २०७१ असार २३ गते २:५६ मा प्रकाशित

खोटाङ, २३ असार– खोटाङमा महिला तथा बालअधिकार हननका घटना दिनानुदिन बढ्दै गएको पाइएको छ ।
गत चैत १८ देखि असार १७ गतेको अवधिमा जिल्लामा ४४ वटा मानवअधिकार हननका घटना घटेकामा सबैभन्दा बढी महिला तथा बालबालिकासम्बन्धी घटना घटेको पाइएको हो ।
जिल्लाको मानवअधिकारको अवस्थाबारे एक तथ्याङ्क सार्वजनिक गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले तीन महिनायता ३६ वटा महिला र सात वटा बालअधिकार हननका घटना घटेको जनाएको छ ।
इन्सेकका खोटाङ प्रतिनिधि डिएम चाम्लिङले तीन महिनाको अवधिमा जिल्लाका चार महिला बलात्कृत भएको, तीन महिलामाथि बलात्कारको प्रयास भएको, ११ महिलामाथि सौता लगाइएको, नौ महिलामाथि घरेलुहिंसा गरिएको तथ्याङ्क सार्वजनिक गरे ।
यस्तै, चार बालिका बलात्कृत भएको, तीन वटाको बालविवाह भएको, दुई बालबालिकाको अधिकार हनन भएको चाम्लिङले जानकारी दिनुभयो । जिल्लामा हत्यासम्बन्धी तीन वटा, धम्की तथा कुटपिटसम्बन्धी तीन वटा, आर्थिक तथा सामाजिक अधिकारसम्बन्धी दुई वटा, दुव्र्यबहारसम्बन्धी चार वटा घटना घटेको इन्सेकले जनाएको छ ।

कार्यक्रममा बहुविवाह तथा घरेलुहिंसासम्बन्धी घटनालाई मिलापत्रमै टुङ्ग्याउने गरिएको बताइएको छ ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता जनाए । प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले पीडित महिला मुद्दा दिन नआउँदा महिला हिंसाका घटना बढिरहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले जिल्लामा बढ्दो आपराधिक क्रियाकलाप नियन्त्रणका लागि राज्यका निकाय गम्भीर हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us