सोलुखुम्बु, २२ असार – सोलुुखुम्बुको सोताङमा अक्सिजनको सिलिन्डर पड्किएर दुईको मृत्यु भएको छ भने अरु दुई गम्भीर घाइते भएका छन् ।
सोताङ–६ धोद्रेस्थित भुवनसिंह राईको घरमा रहेको अक्सिजन ग्यासको सिलिन्डर आज बिहान करिब ७ बजेतिर पड्किँदा भुवनसिंह राईका छोरा वर्ष आठका शक्ति राई र चमारे तामाङकी २६ वर्षीया श्रीमती पिडीली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिए ।
घटनामा परी चमारे तामाङ र बिजुली तामाङ गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनामा कालुमान तामाङ पनि घाइते भएका छन् ।
भुवनसिंह राई ट्रेकिङ जाँदा सो सिलिन्डर ल्याएर राखेको बताइन्छ । आइतबार बिहान चमारे तामाङले सिलिन्डरमा लेउ लागेको देखेपछि खुकुरीले खुर्केर लेउ फ्याँक्न खोज्दा सिलिन्डर पड्किएको हो । सिलिन्डर ल्याउने भुवन अहिले खुम्बुतिर गएका छन् ।
घटनास्थल पुग्न सदरमुकामबाट दुई दिन हिँड्नुपर्छ । इलाका प्रहरी कार्यालय सोताङबाट पनि करिब आठ घण्टा हिँड्नुपर्ने भएकाले प्रहरी टोली दिउँसो ४ बजेपछि मात्र घटनास्थलमा पुग्ने बताइएको छ ।