देशको मागअनुसार गुणस्तरीय शिक्षा दिइनु पर्छ : कावा प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असार २२ गते ७:५९ मा प्रकाशित

काठमाण्डु, २२ असार – कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकताअनुसारको गुणस्तरीय शिक्षा दिइनुपर्नेमा जोड दिएका छन् ।

bamdevत्रिभुवन विश्वविद्यालयको ५५औँ वार्षिक दिवस समारोहका अवसरमा विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा उनले विश्वव्यापी रुपमा बढिरहेको गुणस्तरीय शिक्षाको मागअनुरुप विश्वविद्यालय अघि बढ्नुपर्ने बताए ।

विसं २०६२÷६३ को जनआन्दोलनले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम गराएको र त्यसलाई संस्थागत गर्न संविधानसभाबाट संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पु¥याउने कार्य भइरहेको उनले उल्लेख गरे ।

समृद्ध नेपालका लागि दक्ष जनशक्ति आवश्यक हुने र समयानुकूल गुणस्तरीय शिक्षाका माध्यमबाट मात्र दक्ष जनशक्ति तयार गर्न सकिनेतर्फ विश्वविद्यालयको ध्यान पुग्नुपर्नेमा उनको जोड थियो ।

विश्वव्यापी प्रतिष्पर्धामा उतार्न विश्वविद्यालयले योजनाबद्ध प्रयास गर्नुपर्ने सुझाव दिँदै उनले भने – “उच्च शिक्षाको विकासका लागि राष्ट्रिय अभिभारा बहन गर्दै विश्वविद्यालय अघि बढ्नुपर्छ ।”

शिक्षामन्त्री चित्रलेखा यादवले आधा शताब्दी लामो शैक्षिक इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयले स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो पहिचान दिन सक्षम बनेको उल्लेख गरिन् ।

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउन सोहीअनुरुपको शैक्षिक विधि खोज्नुपर्ने र वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने खाँचो उनले औल्याइन् ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले विश्वविद्यालयको प्रभावकारिता अभिवृद्धिका लागि विश्वविद्यालय सम्बद्ध सबै पक्षको सहयोग आवश्यक हुने बताए ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपानेले उच्च शिक्षाको ९० प्रतिशत व्ययभार व्यहोर्दै आएको विश्वविद्यालयले थुप्रै चुनौतीबीच आफूलाई अघि बढाउँदै आएको उल्लेख गरे ।

उक्त अवसरमा कावा प्रधानमन्त्री गौतमले विश्वविद्यालयस्थित स्मृति भवन परिसरमा रहेको विश्वविद्यालयको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us