सुरक्षाकर्मीको घेराबन्दीमा काँग्रेस क्षेत्रीय सभापतिको अधिवेशन

काठमाण्डु टुडे २०७१ असार २२ गते ७:२२ मा प्रकाशित

खोटाङ, २२ असार –  कडा सुरक्षाकर्मीको घेराबन्दीमा नेपाली काँग्रेस क्षेत्रीय सभापतिको अधिवेशन सुरु भएको छ ।

Nepali-Congress-Flag1315101735दुई पक्षबीच हुनसक्ने सम्भावित झडप नियन्त्रणका लागि कडा सुरक्षाकर्मीको घेराबन्दीमा खोटाङ क्षेत्र नं २ को क्षेत्रीय सभापति चयनका लागि अधिवेशन सुरु भएको हो ।

क्षेत्रीय सभापति पदका लागि तीर्थराज भट्टराई र भूपेन्द्र राईको उम्मेद्वारी परेको छ । बिहान ८ बजे उम्मेदवारी दर्ता गराएका उनीहरुबीच मध्याह्न १२ बजेबाट मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचनमा दुवै उम्मेदवारले जित आफ्नो हुने दाबी गरेका छन् । भट्टराईलाई जिल्ला सभापति विष्णुकुमार राई पक्षको समर्थन छ भने, राईलाई पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत पक्षको समर्थन छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका विरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नं २ का तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित भएपछि रिक्त पदका लागि आइतबार अर्को अधिवेशन हुन लागेको काँग्रेसले जनाएको छ । अधिवेशनलाई लक्षित गर्दै शनिबारदेखि दिक्तेल बजारका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सोपकोटाले बताए । उनले भने, “पार्टीभित्र विवाद देखिएकाले झडप हुने सम्भावना हुँदा सुरक्षा व्यवस्था कडा पारिएको हो ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us