भोटिङ मेशिनबारे फैलाइएको अफवाहबाट दु:खी छौं: राम/लक्ष्मण

काठमाण्डु टुडे २०७१ असार २२ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २२ असार– एमाले महाधिवेशनमा आफ्नो आविष्कार विद्युतीय भोटिङ मेशिन प्रयोगको विषयलाई लिएर विवाद भएकामा नेपाली वैज्ञानिक राम, लक्ष्मण दु:खी ram laxmanभएका छन् ।
आफूहरुले निकै कष्टका साथ बनाएको र केही स्थानमा सफल प्रयोगसमेत भइसकेको भोटिङ मेशिनबारे आशंका उत्पन्न हुने किसिमको प्रचार गरिएको भन्दै उनीहरु दु:खी भएका हुन् ।

अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षले विद्युतीय भोटिङ मेशिनप्रति विश्वस्त हुन नसक्ने भन्दै मतपत्रमै मतदान गर्नुपर्ने बताएको छ ।

‘विद्युतीय भोटिङ मेशिनका बारेमा भएको गलत प्रचारले हामीलाई दुु:खी तुल्याएको छ’, वैज्ञानिक लक्ष्मणले काठमाण्डु टुडेसँग भने, ‘यो मेशिन हाम्रो प्रतिष्ठा र जीवनसँग गाँसिएको विषय हो, अनर्गल प्रचारमा कुनै सत्यता छैन ।’ उनले विरोध गर्ने पक्षले यथार्थताभन्दा भावनात्मक कुरा गरेको टिप्पणी गरे ।

आफूहरु विशुद्ध प्राविधिक भएको र राजनीतिमा कुनै चासो नरहेको भन्दै उनले एमालेमा जसले जिते पनि आफूहरुको सरोकारको विषय नभएको उल्लेख गरे ।

‘हामी नेपालको प्रविधिमा कसरी मौलिक विकास गर्ने भनेर लागिपरेका छौं’, लक्ष्मणले भने, ‘राजनीतिसँग हामीलाई कुनै चासो छैन, एमालेमा जसले जिते पनि हामीलाई केही फरक पर्दैन ।’ उनले भोटिङ मेशिनमा कुनै खराबी नरहेको भन्दै कागजको इलेक्ट्रोनिक पाटो मात्र भएकाले आशंका नगर्न आग्रह गरे ।

उनले एमाले संसदीय दलको निर्वाचनमा आफूहरुको मेशिन प्रयोग भएको र त्यतिबेला अहिले आशंका गरिरहेका नेताहरुले नै बधाई र धन्यवाद दिएको स्मरण गरे । एमालेकै कास्की जिल्ला सम्मेलन र राप्रपा नेपालको महाधिवेशनमा भोटिङ मेशिनबाट निर्वाचन सम्पन्न गरिएको उनले बताए ।

उनले विश्वास नलागे महाधिवेशनमा आफ्नो मेशिन प्रयोग नगर्न पनि आग्रह गरे । तर त्यसबारे गलत अफवाह नफैलाउन उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us