काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले पेस गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न दलका बारेमा
विभिन्न धारणा समेटिएको छ ।
उनले सबैभन्दा नजिकको सीपी मैनाली नेतृत्वको नेकपा माले र सबैभन्दा खराब आफैंबाट छुट्टिएर गएको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी रहेको उल्लेख गरेका छन् ।
खनालको विश्लेषण यस्तो छ ।
काँग्रेस पुँजीपति वर्गको प्रतिनिधि
नेपाली काँग्रेस पुँजीपति वर्गको पार्टी हो । कांग्रेससँग प्रतिस्पर्धा र सहकार्य दुवै गर्न सकिने छ । काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा गर्ने नीति हाम्रो छ ।
एमाओवादी ढुलमुले
एकीकृत नेकपा माओवादी ढुलमुले शक्ति हो । कहिले राष्ट्रियताको कुरा गर्ने त कहिले विदेशी सामु आत्मसमर्पण गर्ने अस्थिर दल । एमाओवादीलाई संविधानसभाबाट बाहिर जान दिइनु हुँदैन ।
वैद्य समूह उग्रवामपन्थी
मोहन वैद्यले नेतृत्वको गरेको नेकपा– माओवादी उग्रवादी र अराजकतावादी समूह हो । उसलाई उग्रवामपन्थी, अराजक बाटोमा जानबाट रोक्न प्रयत्न गर्नुपर्छ ।
नेकपा मालेसँग एकता
क्रान्तिका आधारभूत प्रश्नमा ठूलो मतभिन्नता नरहेको यथार्थलाई आधार बनाएर यस समूहसँग सहकार्य र एकताका लागि सार्थक पहल अगाडि बढाउनुपर्छ ।
संघीय समाजवादी हानिकारक
अशोक राई नेतृत्वको संघीय समाजवादी गलत र हानिकारक । गैरकम्युनिष्ट कित्ताको प्रतिनिधि । आदिवासी जनजातिका नाममा खुलेका यस्ता गलत र हानिकार विचारको खण्डन/आलोचना गर्दै हामीले समाजलाई अतिवादको प्रभावबाट मुक्त राख्न निरन्तर लागिरहनुपर्छ ।
मधेस केन्द्रित दल अवसरवादी
मधेसवादी दलले मधेसमा सामाजिक सदभाव खल्बल्याइरहेका छन् । काँग्रेसको सरकारमा पटकपटक लाभका स्थामा पुगेका र आन्दोलनका विपक्षमा उभिएका नेताहरुको प्रभावमा रहेका अधिकांश मधेसी दलहरु तराई–मधेसमा यथास्थितिवादका सम्वाहक बनेका छन् । मधेसी दलहरु वैज्ञानिक भूमिसुधारको विरोधमा छन् । उनीहरु महिला र दलितमाथि भइरहेका निरन्तर उत्पीडनबारे मौन छन् । तराईका सशस्त्र समूहसँग साँठगाँठ गर्छन् ।
राप्रपा सकारात्मक
पूर्वपञ्चहरुको पार्टी भए पनि गणतन्त्रलाई मानेको हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । उसँग संविधान निर्माणलगायत विषयमा सहकार्यसमेत गर्न सकिने छ ।
कमल थापा स्थास्थितिवादी
कमल गापा नेतृत्वको राप्रपा नेपाल यथास्थितिवादी शक्ति हो । यसका दक्षिणपन्थी अतिवादी सोचहरुको विरोध र राजतन्त्र फर्काउने प्रतिगामी विचारहरुको प्रतिवाद गरिनुपर्छ ।