भोटिङ मेशिन प्रयोगबारे एमालेमा विवाद

काठमाण्डु टुडे २०७१ असार २१ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय भोटिङ मेशिनबाट मतदान गर्ने kp- madhavकि नगर्ने भन्नेमा दुई पक्षबीच विवाद भएको हो ।
अध्यक्षका प्रत्यासी नेता माधवकुमार नेपाल पक्षले भोटिङ मेशिनमा विश्वास नभएको भन्दै असहति जनाएपछि विवाद भएको हो । अर्का प्रत्यासी ओली पक्ष भने पार्टी निर्णयअनुसार भोटिङमेशिन प्रंयोग गर्नुपर्ने पक्षमा छ ।

नेपाल पक्षले धाँधली हुन सक्ने भन्दै भोटिङ मेशिन प्रयोग गर्न नमानेको हो । भोटिङ मेशिनबाट हुने मतदान विश्वसनीय नहुने सो पक्षको भनाइ छ । विद्युतीय मेशिनको व्यवस्थापन अध्यक्षका अर्का प्रत्याशी ओली पक्षधर नेता सोमनाथ प्यासीले गरेका कारण नेपाल पक्ष सशंकित भएको हो ।

‘विद्युतीय भोटिङ मेशिन विश्वसनीय हुने देखिएन’, नेपाल पक्षीय युवा नेता निरज आचार्यले भने, ‘अब मतपत्रमै भोट हाल्ने कुरा भएको छ ।’ उनले आफूहरु मात्र नभई ओली पक्षधर प्रतिनिधिहरु समेत भोटिङ मेशिन प्रयोग गर्न नहुने पक्षमा रहेको दाबी गरे । भोटिङ मेशिन प्रयोग नभएको अवस्थामा एमाले महाधिवेशन लम्बिने भएको छ ।

नेता नेपालका प्रेस सहयोगी विष्णृ रिजालले कुनै पनि आधिकारिक निकायले भोटिङ मेशिनको अवस्था प्रमाणीकरण नगरेको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएका कारण मतपत्रमै मतदान हुने बताए ।

यद्यपि त्यसबारे औपचारिक निर्णय भने विघटित केन्द्रीय कमिटी बैठकले लिने रिजालले जनाए । ओली पक्षधर नेता प्रदीप ज्ञवालीले भने भोटिङ मेशिनमा विश्वास गर्न नसक्नु आश्चर्यको विषय भएको बताए ।

महाधिवेशनस्थलको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी उनले भोटिङ मेशिनको विरोध गुर्नेले प्रंविधि नचिनेको र ढुंगे युगमा फर्कन चाहेको आरोप लगाए । उनले भोटिङ मेशिनमा विश्वास नहुने भए मोबाइल फोन पनि चलाउन नहुने तर्क गरे ।

’भोटिङ मेसिन प्रयोग गर्ने निर्णयमा परिर्वतन भएको छैन’, ज्ञवालीले भने, भोटिङ मेशिनमा आशंका गर्ने भए मोबाइल फोन पनि चलाउनु भएन । उनले भोटिङ मेशिनले कसैलाई जिताउने वा हराउने काम नगर्ने प्रष्टयाए ।

‘कसलाई जिताउने वा हराउने भन्ने कुरा भोटिङ मेशिनले गर्ने होइन, प्रतिनिधिले हो’, ज्ञवालीले भने, ‘निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न भोटिङ मेशिन उपयुक्त हो ।’ उनले भोटिङ मेशिनको प्रयोगबारे आइतबारलदेखि प्रतिनिधिलाई सिकाउन थालिने जानकारी दिए ।

उनले निर्वाचनका ६० वटा भोटिङ मेशिन प्रयोग गरिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us