हेटौंडा, २१ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले सभासदलाई भ्रष्ट बनाउन खोजेको आरोप लगाएका छन् ।
राप्रपा नेपालले गृह जिल्ला हेटौंडामा शनिबार गरेको कार्यक्रममा थापाले निर्वाचन क्षेत्रको विकासका नाममा पाँच करोड बाँडेर सरकारले सभासदलाई भ्रष्ट बनाउन मलजल गरेको बताए । जनतासामु एक वर्षमा संविधान दिन्छु भन्ने बाचा गरेर आएका सभासदले सरकारसँग पाँच करोड माग्नु नाजायज भएको उनको भनाइ थियो ।
‘निर्वाचन क्षेत्रको विकासमा पाँच करोड दिएर सरकारले सभासदलाई भ्रष्ट बनाउन खोजेको छ’, थापाले भने, ‘एक वर्षमा संविधान दिन्छु भनेर चुनिएका सभासदले पाँच करोड माग्नु कुनै पनि अर्थमा जायज होइन ।’ अध्यक्ष थापाले विकासमा नाममा सभासदलाई पाँच करोड दिने तयारी गरेर सरकारले भ्रष्टाचार संस्थागत गर्न खोजेको आरोप लगाए ।