नेताहरुलाई खुइल्याउने काम भयो: गौतम

काठमाण्डु टुडे २०७१ असार २१ गते १०:०० मा प्रकाशित

काठमाण्डु, २१ असार– नेकपा एमालेका निवर्तमान उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पार्टीका नेताहरुलाई व्यक्तिगत रुपमा खुइल्याउने र राजनीतिक चरित्रमाथि प्रश्न खडा गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।  bamdev

शनिबार विज्ञप्ति जारी गर्दै गौतमले महाधिवेशन चलिरहेका बेला बन्दसत्रलाई प्रभावित गर्न नेताहरुलाई खुइल्याउने काम भइरहेको बताएका हुन् । गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा त्यस्ता गतिविधि तत्काल रोक्न भनिएको छ । विज्ञप्तिमा गौतमले पार्टी नेतृत्वमा ४० प्रतिशत हिस्सा नमागेको प्रष्टीकरण समेत दिइएको छ ।
केही सञ्चारमाध्यममा उनले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीसँग आफ्नो पक्षलाई महासचिवसहित केन्द्रीय समितिमा ४० प्रतिशत मागेको समाचार आएको थियो । गौतमले महाधिवेशन चलिरहेका बेला भागबण्डाका समाचार आउनुलाई महाधिवेशन प्रतिनिधिको अपमान भनेका छन् । महाधिवेशन नै सर्वाेच्च निकाय भएकाले त्यसले गर्ने निर्णय आफूलाई मान्य हुने उनको भनाइ छ ।

‘महाधिवेशनको बन्दसत्रलाई प्रभावित पार्ने, नेतालाई विभिन्न तवरले लाञ्छना लगाउने र राजनीतिक चरित्रमाथि प्रश्न खडा गराउनेजस्ता कार्य तत्काल बन्द गर्नुपर्ने उपाध्यक्ष गौतमको धारणा रहेको छ, ‘विज्ञप्तिमा भनिएको छ ।’
गौतमले पार्टीको भावी नेतृत्वको मूल सर्त नेतृत्व हस्तान्तरण गर्नु रहेकाले त्यसका लागि ओलीले अध्यक्ष पदमा गरेको दाबी मनासिव रहेको भन्दै आगामी नेतृत्वलाई लिएर कुनै किसिमको भागबन्डाको माग नगरेको दाबी गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us