काठमाण्डु, २० असार– आजका लागि बोलाइएको एकीकृत माओवादी स्थायी कमिटी बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सहयोगी शिव खकुरेलले काठमाण्डु टुडेलाई जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरुको रिपोर्टिङका आधारमा संश्लेषण गर्ने बताइएको थियो । यसअघि शुक्रबार बसेको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले जिल्ला–जिल्लामा समानान्तर कमिटी निर्माण गरेको भन्दै आपत्ति जनाएका थिए ।
केही नेताले पार्टीहितविपरीत गतिविधिमा संलग्न त्यस्ता नेता कार्यकर्तामाथि कारबाहीको मागसमेत गरेका थिए । यस्तै उनीहरुले संविधानसभा उपनिर्वाचनमा पार्टी जनमत खस्कनुमा अन्तरसंघर्ष मुख्य कारण रहेको उल्लेख गरेका छन् ।
गत ८ असारमा सम्पन्न उपनिर्वाचनमा ४ मध्ये तीन क्षेत्रमा काँग्रेस र एक क्षेत्रमा एमाले उम्मेदवारी विजयी भएका थिए । कैलाली–६ मा एमाओवादी उम्मेदवारको धरौटी जफत भएको थियो भने अन्य क्षेत्रमा पनि अघिल्लो निर्वाचनको तुलनामा मत परिणाम घटेको थियो ।