जिप दुर्घटनामा सात घाइते

काठमाण्डु टुडे २०७१ असार २० गते १०:१६ मा प्रकाशित

बागलुङ, २० असार – बुर्तिवाङदेखि सदरमुकाम बागलुङ आउँदै गरेको जिप बुर्तिवाङ–४ खल्टुबोटमा शुक्रबार बिहान दुर्घटना हुँदा सात यात्रु घाइते भएका छन् ।

ना१ज ३७५४ नम्बरको जिप बुर्तिवाङबाट छुटेको १० मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका सातमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बोवाङ गाविसका पूर्व गाविस अध्यक्ष शेरमान घर्ती, पंैयूपाटा घर भई खुङ्गा गाविसमा सचिव पदमा कार्यरत युवराज शर्मा र बुर्तिवाङका विष्णुमाया रोकाको अवस्था गम्भीर रहेको छ ।

जिपमा सवार अधिकारी चौरका केशमाया घर्ती, चालक दर्लिङका सुवासप्रताप केसी, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजकिशोर यादव र बुर्तिवाङका नेत्र चालिसे सामान्य घाइते भएका छन् । घाइतेको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । जिप दुर्घटना भएर बडीगाढ खोलामा खसेको थियो । अकस्मात् जिपको स्टिम लक भएपछि दुर्घटना भएको अनुमान गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us