समानान्तर समिति बनाउने बाबुराम पक्ष नेता निष्काशित

काठमाण्डु टुडे २०७१ असार २० गते ८:०६ मा प्रकाशित

सिन्धुली, २० असार – एकीकृत नेकपा माओवादी जिल्ला समितिले डा. बाबुराम भट्टराई पक्षीय सात नेतालाई समानान्तर समिति बनाएको भन्दै निस्काशन गरेको छ ।

maoist-flagसंस्थापन पक्षले राजन दाहालको नेतृत्वमा कार्यसमिति चयन गरेपछि भट्टराई पक्षले दिर्घराज श्रेष्ठको अध्यक्षमा समानान्तर समिति गठन गरेको थियो ।

दाहाल पक्षको शुक्रबार बसेको बैठकले पार्टी अनुशासन विपरित काम गरेको भन्दै श्रेष्ठसहित सात जनालाई अनिश्चितकालका लागि पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । ‘सहमतिमा पनि नआउने, वैधानिक रुपमा भएको निर्वाचनलाई पनि नमानेर समानान्तर समिति बनाएपछि कारबाही गरेका हौं’ दाहालले भने ।

कारबाहीमा पर्नेमा श्रेष्ठसँगै सुरतबहादुर सिं, रामबाबु थापा, बन्दना सुवी, सानी श्रेष्ठ, सुव गुर्मछान र शिव भट्टराई छन् । उनीहरु सबै भट्टराई पक्षको समानान्तर समितिका पदाधिकारी हुन् ।

३८ सदस्यीय जिल्ला समितिमा रहेका २६ जनाले बुधबार राजन दाहालको नेतृत्वमा जिल्ला समिति बनाएका थिए । निर्वाचन अघि प्रचण्ड पक्षले भट्टराई पक्षलाई उपाध्यक्ष र कोषाध्यक्ष लिन प्रस्ताव गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us