काठमाण्डु, २० असार– अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने आशंका व्यक्त गर्दै
आएका छन् ।
उनले प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग हुन सक्ने भन्दै सचेत पनि गराएका थिए ।
नेपालले अध्यक्षका अर्का प्रत्यासी केपी ओली पक्षधर उपाध्यक्ष एवम् कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई लक्षित गरेर त्यस्तो अभिव्यक्ति दिएको अनुमान धेरैको थियो ।
तर गौतमलाई मात्र नभई वर्तमान मन्त्रिपरिषदमा रहेका अधिकांश मन्त्रीहरुप्रति लक्षित गरी उक्त अभिव्यक्ति दिएको खुलेको छ । त्यसको कारण वर्तमान सरकारमा सहभागी १० मध्ये नौ मन्त्री ओली पक्षका छन् ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, उद्योगमन्त्री कर्णबहादुर थापा, भूमिसुधारमन्त्री दलबहादुर राना, स्वास्थ्यमन्त्री खगराज अधिकारी, उर्जामन्त्री राधा ज्ञवाली र कृषिमन्त्री हरि पराजुली ओली पक्षमा छन् ।
नेपालका पक्षमा सामान्य प्रशासनमन्त्री लालबाबु पसिण्डत एक्ला छन् । पर्यटनमन्त्री भीम आचार्य र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल अध्यक्ष झलनाथ खनाल पक्षका हुन् ।उनीहरुलाई खनालले नेपालका पक्षमा लाग्न निर्देशन दिइसकेका कारण नेपाल पक्षमा तीन मन्त्री देखिएका छन् ।