सभासदलाई ५ करोड दिन सरकार सकारात्मक

काठमाण्डु टुडे २०७१ असार १९ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १९ असार–संसद् विकास कोषको रकम बढाएर पाँच करोड पुर्‍याउनुपर्ने सभासद्हरूको मागप्रति सरकार सकारात्मक देखिएको छ ।
काँग्रेस केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकमा सभासद्हरूले कोषको रकम १० लाखबाट बढाएर पाँच करोड पुर्‍याउनुपर्ने माग राखेकामा त्यसप्रति सरकार सकारात्मक भएको हो । आर्थिक क्षमताले भ्याएसम्म वृद्धि गरिने काँग्रेस केन्द्रीय सदस्य एवम् सिञ्चाइमन्त्री नारायणप्रसाद साउदले बताए ।

बैठकमा सभासद्हरूले २४० निर्वाचन क्षेत्रमा सन्तुलित तवरले बजेट पुर्‍याउन एवम् स्थानीय निकायले सिफारिश गरेका योजना र कार्यक्रमको प्राथमिकीकरण गरी विकास निर्माणलाई प्रभावकारी बनाउन पनि संसद् विकास कोषको रकम बढाउनुपर्ने माग गर्नुभएको मन्त्री साउदले जानकारी गराए ।

विगत चार दिनदेखि बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरूले सरकारका गतिविधि र नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिनुका साथै बजेटमा आफ्ना क्षेत्रका समस्या सम्बोधन गर्न माग गरेका थिए ।

बैठकमा सभासद्ले पहुँचका आधारमा नभई सन्तुलित रूपमा सरकारका कार्यक्रम र बजेटको बााडफााड हुनुपर्ने माग गर्दै हरेक क्षेत्रका जनताले विकासको प्रत्याभूति गर्न पाउने गरी बजेट ल्याउन सरकारसँग माग गरेको मन्त्री साउदले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us