धरौटी बुझाउन नसक्दा कैदीबन्दी कारागारमा बस्न बाध्य

काठमाण्डु टुडे २०७१ असार १९ गते ८:३७ मा प्रकाशित

झापा, १९ असार – जिल्ला कारागार चन्द्रगढीमा रहेका दुई दर्जनभन्दा बढी कैदीबन्दी धरौटी रकम बुझाउन नसकेर पुर्पक्षका लागि कारागारमा बस्न बाध्य भएका छन् ।

jailविभिन्न सार्वजनिक अपराध मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालय झापाले रिहाइका लागि धरौटी रकम तोके पनि रकम तिर्न नसक्दा कैन्दीबन्दी कारागारमा बस्न बाध्य भएका हुन् । प्रशासन कार्यालयले न्यूनतम रु दुई हजारदेखि अधिकतम रु २४ हजारसम्म धरौटी रकम तोके पनि रकम नभएका वा नतिरेकाले कारागारमा रहनु परेको हो ।

कारागार प्रमुख दीपेन्द्र खत्रीले सार्वजनिक मुद्दाका १७ जना कैदी धरौटी रकम तिर्न नसक्दा कारागारमा रहेको बताए । त्यस्ता कैदीले एक दिनबराबर रु २५ कटौती हुने गरी सजाय भोगिरहेका छन् ।

सजाय मिनाहा वा यस विषयमा थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारीसँग बुझ्न खत्रीले आग्रह गर्नुभयो । त्यसैगरी प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले सार्वजनिक मुद्दाअन्तरर्गत धरौटी, कैद वा दुवै सजाय पाएका कैदीहरुले यस्तो सजाय भोगिरहेको जानकारी दिए ।

सार्वजनिक मुद्दामा धरौटी रकम नबुझाएको खण्डमा कारागार पठाउने गरेको प्रजिअ नेपालको भनाइ छ । यता गत २०७० माघदेखि यता कारागारमा दुई दर्जन बढी सार्वजनिक मुद्दाका कैदीहरु पुर्पक्षमा रहेको कारागार स्रोतले जनाएको छ ।

हाल यस कारागारमा क्षमताभन्दा तेब्बर ६६४ जना कैदीबन्दी रहेका छन् । यसमा पुरुष ५९९, महिला ५४ र नाबालक १० जना रहेको कारागारले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us