वर्षात सुरु भएसँगै चितवनमा डेङ्गु आतङ्क

काठमाण्डु टुडे २०७१ असार १९ गते ४:२२ मा प्रकाशित

चितवन, १९ असार– चितवनमा वर्षात सुरु भएसँगै डेङ्गुको सङ्क्रमण पनि बढेको छ ।
गत वैशाखमा दुईजनामा देखिएको डेङ्गुको सङ्क्रमण जेठमा १४ जनामा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
अस्पतालका कीट नियन्त्रक निरीक्षक राम केसीले जानकारी दिए । असारमा पनि सङ्क्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइनसकेको बताए ।

डेङ्गुको सङ्क्रमण बढेपछि जनस्वास्थ्यले आगामी असार २४ गतेबाट तीन दिन जिल्लाका दुई नगरपालिकामा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गर्न लागेको छ ।
चितवनमा गएको साउनबाट जेठसम्म ३५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । जसमा ६४ प्रतिशत पुरुष छन् । माघ, फागुन र चैतमा सङ्क्रमण शून्य रहे पनि पानी परेसँगै सङ्क्रमण फैलिएकाले घरवरपर साना–ठूला भाँडामा पानी जमेको भए फाल्न र सफा राख्न जिल्ला जनस्वास्थ्य कार्यालयले अपिल गरेको छ ।
डेङ्गु सार्ने लामखुट्टेले यस्तै जमेको पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु लाग्ने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us