चन्दको प्रस्ताव समेट्न वैद्यलाई सुझाव

काठमाण्डु टुडे २०७१ असार १९ गते ३:४७ मा प्रकाशित

काठमाण्डु, १९ असार– नेकपा–माओवादीको बैठकमा अध्यक्ष मोहन वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले प्रस्तुत गरेको फरक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।

mohan baidhya-netra bikram chandबुधवारबाट सुरु भएको माओवादी बैठकमा अध्यक्ष वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गरेकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले ‘जनयुद्धको निरन्तरतामा जनविद्रोह’को कार्यदिशाको प्रस्ताव पेस गरेका हुन् ।

बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले अध्यक्ष वैद्यको प्रस्तावको परिपूरकको रुपमा सचिव चन्दको प्रस्ताव लैजानुपर्ने सुझाव दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

‘एउटाको प्रस्ताव अर्काको विरुद्धमा होईन, भुसालले भनिन्, ‘दुवै प्रस्तावलाई सहयोगी प्रस्तावका रुपमा लैजानुपर्ने सुझाव नेताहरुले दिनुभयो ।’
बैठकमा बिहीबार उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ, पोलिटव्युरो सदस्यहरु धमेन्द्र बाँस्तोला, नारायण शर्मा, ईन्द्रमोहन सिग्देलले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक शुक्रबार पनि बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us