बागलुङ, १९ असार– झोलुङ्गेपुलको जिल्ला भनेर चिनिने बागलुङमा चालु आर्थिक वर्षमा १० वटा नयाँ झोलुङ्गेपुल निर्माण भएका छन् ।
जिल्ला विकास समितिले यो वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी लक्षित गरेका १० वटा पुलको निर्माण सम्पन्न भएको हो ।
जिविसअन्तर्गतको विकेन्द्रीकरण ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) मार्फत जिल्लाका विभिन्न गाविसमा रहेका खोला र घाटमा पुल बनाइएको हो । जिल्ला विकास समितिका अनुसार यो वर्ष बनेका पुलमा बोवाङको होकटघाट, तमानको अर्जेलघाट, अधिकारीचौरको कुदुमघाट र सराहखेत, रणसिंहकिटेनीको नुन्थलाघाट पुल रहेका छन् ।
त्यस्तै सिसाखानीको छेपारेघाट, हुग्दीशिरको धुल्लाघाट, खुङ्गाका कुताखोला, छिस्तीको ज्यामिरेघाट र पालुङखोलामा पुन: निर्माण गरिएको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकार िदिए । खोलामा पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीयलाई झोलुङ्गेपुल बनेपछि आवतजावतमा सुविधा पुगेको छ । पुल नभएकै कारण घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता पनि अब हटेको छ ।
ड्रिलिपको एक करोड ७४ लाख ८१ हजार र बाँकी जिविस, गाविस र उपभोक्ताको लगानीसमेत गरी रु दुई करोड आठ लाख ९६ हजारको लागतमा पुल निर्माण भएको इन्जिनियर रामचन्द्र मिश्रले जानकारी दिए । सबैभन्दा धेरै सिसाखानीको छेपारेघाटमा बनेको पुलमा ३४ लाख खर्च भएको इन्जिनियर मिश्रले बताए ।
यो वर्ष प्राथमिकीकरणमा परेका १० वटा पुल निर्माण गरिएको र बाँकी सातवटा पुल आगामी आर्थिक वर्षभित्र बनाउने जिविसले जनाएको छ ।