काठमाण्डु, १८ असार– एमालेको नवौं महाधिवेशन सुरु हुन एक दिन मात्र बाँकी छँदा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षका हस्ती भनेर चिनिएका केन्द्रीय सदस्य
एवम् उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठ माधव नेपाल पक्षमा खुलेका छन् ।
नेपाल समूहका महिलाहरुले राजधानीको प्रज्ञा प्रतिष्ठानमा बुधबार गरेको भेलामा श्रेष्ठले ओलीविरुद्ध चर्को भाषण गरे । श्रेष्ठले बिरामीले पार्टी चलाउन नसक्ने भन्दै अस्वस्थ ओलीलाई पार्टीको जिम्मा लगाउने अमानवीय हुने तर्क गरे । महाधिवेशनबाट नेपाल अध्यक्षमा चुनिने दाबी गर्दै उनले ओलीलाई आराम गराउनुपर्ने बताए । ‘बिरामीलाई पार्टी अध्यक्षको जिम्मा दिँदा अन्याय हुन्छ’, श्रेष्ठले भने, ‘ओली कमरेडको स्वास्थ्यमाथि कसैले खेलबाड नगरौं, उहाँलाई आरामको जरुरी छ ।’
भीम आचार्य पनि नेपालकै पक्षमा
कार्यक्रममा पोलिट्ब्युरो सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्य पनि सहभागी भए । उनले पनि अबको अध्यक्षमा माधव नेपालको विकल्प नरहेको बताए । अध्यक्ष झलनाथ खनाल पक्षधर आचार्य यसअघि सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै पनि देखिएका थिएनन् । त्यसअघि राजधानीमै बुधबार भएको अर्को कार्यक्रममा आचार्यले सर्वसम्मतिमा खनाल नै अध्यक्ष हुने सम्भावनासमेत रहेको दाबी गरेका थिए ।