काठमाण्डु, १८ असार– व्यवस्थापिका संसद्को जारी बैठकमा दोश्रो दिन आज पनि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।

छलफलमा सत्ता पक्षले नीति तथा कार्यक्रम अस्पष्ट र विचारहीन रहेको भन्दै समर्थन जनाउन नसकिने दोहोर्याएका छन् । सरकारमै रहेका साना दलका सभासदले नीति तथा कार्यक्रम निर्माणमा आफूहरुलाई सहभागी नगराइएको भन्दै आपत्रि जनाएका छन् ।
प्रमुख प्रतिपक्षी एकीकृत माओवादी सभासद कृष्णबहादुर महराले जनताको हितलाई भन्दा सरकारमा सहभागी दलहरुको स्वार्थमा नीति तथा कार्यक्रम आएकाले समर्थन गर्न नसकिने बताए । कार्यक्रमले देश र जनतामा कुनै उत्साह, भरोसा र आशा ल्याउन नसकेको महराको भनाइ थियो ।
नीति तथा कार्यक्रमले क्षेत्रीय सन्तुलन र आर्थिक अनुशासन कायम हुन नसक्ने भएकाले नैतिक हिसाबले पनि आफूहरुले समर्थन गर्न नसक्ने बताए । एमाओवादीकै अग्नि सापकोटाले आमजनताको व्यापक सहभागितामा भएको निर्णायक आन्दोलनबारे नीति तथा कार्यक्रममा केही उल्लेख नहुनु दुर्भाग्यपूर्ण भएको बताए ।
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सिद्धान्त जस्ता युगान्तकारी परिवर्तनलाई सरकारले स्वामित्व लिन नसकेको उनको भनाइ थियो ।
राप्रपा नेपालका दीनानाथ गिरीले सरकारले क्षेत्रीय सन्तुलनलाई बेवास्ता गरेर ल्याएको नीति कार्यक्रमले परिणाम दिन नसक्ने उल्लेख गरे । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कानुनी शासनको प्रत्याभूतिमा सरकारले इमान्दारिता देखाएको भए पनि कृषिमा जिविकोपार्जन गर्ने जनतालाई सम्बोधन गर्न नसकेको बताए ।
मानव तस्करी र सुन तस्करीलाई उन्मुक्ति दिने मनसायले नीति कार्यक्रम आएको उनको आरोप छ । राप्रपाका दीपक बोहोराले नीति तथा कार्यक्रम नुन नहालेको तरकारीजस्तो भएको टिप्पणी गरे ।
उनले काँग्रेस र एमालेले राप्रपा पनि सरकारमा छ भन्ने बिर्सिएर सिण्डिकेटका आधारमा नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे । बोहराले आफूहरुलाई फुटबलको १२ औं खेलाडी जस्तो बनाइएको आरोप लगाए ।
मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका जीतेन्द्रनारायण देवले सरकारले नेपालमा मधेसको भुगोल छ भन्ने बिर्सेको आरोप लगाए । सरकार मधेसका आन्दोलनकारी शक्तिसँग भएको सहमति कुल्चेर अघि बढ्न खोजेको बताए ।