काठमाण्डु १८ असार– नेकपा एमालेको नवौँ महाधिवेशनको मूल सचिवालय आजदेखि महाधिवेशनस्थल भृकृटीमण्डपमा स्थापना हुँदैछ । केन्द्रीय कार्यालय बल्खुमा रहेको सो सचिवालय आज पार्टी अध्यक्ष झलनाथ खनालले पत्रकार सम्मेलन गरी उद्घाटन गर्ने भएका छन् ।
एमाले प्रचार विभागका सचिव सूर्य थापाका अनुसार महाधिवेशन अगाडिको अन्तिम नियमित पत्रकार सम्मेलनबाट तयारीका सबै जानकारी पनि दिइनेछ । भोलिदेखि भृकुटीमण्डपमा एमालेको महाधिवेशन प्रारम्भ हुँदैछ । महाधिवेशनका लागि छानिएका प्रतिनिधिले आफ्नो नाम दर्ता कार्यलाई जारी राखेका छन् । प्रतिनिधिहरु राजधानी आउने क्रम पनि जारी छ ।
महाधिवेशनस्थललाई प्रविधियुक्त बनाउने र सञ्चार केन्द्र स्थापना गर्ने कार्य पनि भइरहेको थापाले बताउनुभयो । असार १५ गतेदेखि नै सचिवालय सार्ने भनिए पनि शैक्षिक परामर्श केन्द्रहरुको मेलाका कारण पछि सरेको हो ।
महाधिवेशनमा अध्यक्षका प्रत्याशी नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले समूहगत प्रचारलाई तीव्रता दिदै आएका छन् ।