पार्टी र राष्ट्र हाँक्ने नेतृत्व चाहिन्छ : पाण्डे

काठमाण्डु टुडे २०७१ असार १६ गते १३:४४ मा प्रकाशित

काठमाण्डु, १६ असार – नेकपा एमाले पोलिटब्युरो सदस्य सुरेन्दप्रसाद पाण्डेले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सक्षम र योग्य नेतृत्व चयन हुनुपर्ने बताएका छन् ।

surendra pandeyप्रेस चौतारी नेपाल काठमाडौँ शाखाले सोमबार आयोजना गरेको ‘एकल साक्षात्कार’मा उनले अबको नेतृत्व पार्टी र राष्ट्र हाँक्न सक्ने हुनाका साथै आर्थिक रुपमा क्रान्ति गर्न सक्ने हुनुपर्छ भने । पूर्वअर्थमन्त्री पाण्डेले भने, “पार्टी र राष्ट्र बलियो बनाउन मुलुकमा रोजगारीको सिर्जना, युवा विदेश पयालयन रोक्ने र आर्थिक क्रान्ति गर्ने खालको एमाले नेतृत्व आउनु जरुरी छ ।”

उनले कृषि, विद्युत्, सडक, सहर र शैक्षिक विकासका आधार तय गरेर मात्र राष्ट्रको आर्थिक समृद्धि सम्भव हुने बताउँदै पाँच वर्षमा देशलाई कस्तो बनाउने भन्ने बहस चलाउन आवश्यक भएको जानकारी दिए । नेता पाण्डेले भने, “मैले जेल जीवन भोग्नुप¥यो, त्यसका लागि मलाई पार्टीको नेतृत्व गर्न दिनुपर्छ भन्ने कुराले मुलुक बन्दैन, आर्थिक क्रान्तिबिना मुलुकको विकास असम्भव छ ।”

आर्थिक विकास गर्ने कार्यसूची लिएर आएका कारण भारतमा निकै पछि आएका नरेन्द्र मोदी प्रधानमन्त्री बनेको विचार व्यक्त गर्दै उहाँले मुलुकको आर्थिक क्रान्तिका लागि एमालेमा सही नेतृत्व आवश्यक भएको कारण आफूहरुले पार्टीका वरिष्ठ नेता नेपालले अगाडि सारेको बताए ।

आलोपालो सरकारको नेतृत्वका विषयमा पनि पार्टीभित्र कुरा चलेको बताउँदै नेता पाण्डेले तर प्रतिस्पर्धा नगरी सम्झौताका आधारमा एकार्काबीच आलोपालो गरेर पार्टी नेतृत्व गरेमा पार्टी र राष्ट्रको हित नहुनेमा जोड दिए । पार्टीभित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता भएको नेता नेपालले महसुस गरे पनि एक पटकका लागि उहाँको नेतृत्वमा पार्टी अगाडि बढाउने सोचमा युवा पुस्ता नै रहेको नेता पाण्डेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us